राजनीति

यस्तो छ प्रतिनिधिसभाका सांसदको तलब, भत्ता र सुविधा

मुलुकको व्यवस्थापिका संघीय संसद प्रतिनिधिसभामा यसपटकको निर्वाचनबाट धेरै नयाँ, उमेरको हिसाबले युवा मानिने र पढेलेखेका तथा कामगर्ने जोश भएकाहरुको बाहुल्य छ ।

संसदको यो संरचनालाई लिएर धेरैले उत्साह प्रकट गरिरहेका छन् । यसपटकको संसदमा मुलुकका वास्तविक समस्याहरुको उजागर हुने र समाधानका उपायहरुको खोजी हुने पनि विश्वास व्यक्त भैरहेको छ ।

यसअघिका संसदमा पार्टीको ह्वीप लागेर नेताहरुले जे भन्यो त्यही मान्ने, गर्ने र थपडी बजाउने गर्ने गरिंदा संसदको गरिमामा नै आघात पुगेको आम अनुभूतिसंगै सांसदहरुलाई संसदमा बस्न खासै उत्साह नहुने अवस्था थियो ।

त्यसैकारण सांसदहरु अधिवेशन चलिरहेका बेला हाजीर गरेर अन्यत्रै जाने गर्दथे । यसो गर्दा सांसदहरुमा तलबभत्ताको मोहमा फसेर देश र जनताका समस्याहरुप्रति वेवास्ता गरेको आरोप पनि लाग्ने गरेको थियो ।

यसपटक नयाँ दल र सांसदहरुको उपस्थितिका कारण अबको संसद कस्तो होला भन्ने चासो संगै साथै सांसदहरुले पाउने सेवा सुविधाबारे पनि धेरैको रुची छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमिकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । यसमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ थपिँदा ७२ हजार ७० रुपैयाँ हुन्छ ।

यसैगरी काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ आवास सुविधा पाउनेछन् । उपत्यकामा घर हुनेहरुले मर्मत खर्च भनेर ९ हजार रुपैयाँ पाउँछन् ।

यसबाहेक प्रतिनिधिसभा र संसदीय समितिको बैठकमा उपस्थिति हुँदा बैठक भत्ता बापत १ हजार रुपैयाँ र आवतजावतका लागि थप १ हजार रुपैयाँ पाउनेछन् । सांसद निर्वाचित भएर आएपछि एकपटकका लागि फर्निचर खर्च एकमुस्ट १५ हजार रुपैयाँ दिइने धमलाले बताए ।

थप सुविधाको रुपमा सांसदको दैनिक कामकाजमा सघाउने सचिवालयमा राजपत्रांकित तृतीय श्रेणी सरहको स्वकीय सचिव नियुक्त गर्न दिनेछ । स्वकीय सचिवको सेवा सुविधा स्वयं स्वकीयको नै खातामा हालिदिने गरिएको छ ।

सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन् ।

सांसदहरुले उपचार खर्च पनि पाउने छन् । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ ।

त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन् ।

सांसदहरुले पेश्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा ३ महिना सम्मको लिन सकिने व्यवस्था रहेको छ ।

विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको स्वीकृतिमा बढीमा १ वर्षसम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेश्की पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.