संस्कृति

हराउँदै साउने सङ्क्रान्तिमा लुतो फाल्ने संस्कृति

बागलुङका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष लुतो फाल्ने दिन समेत रहेको साउने सङ्क्रान्ति भव्य रूपमा मनाउने गर्छन् । तर, पछिल्लो समय बिस्तारै लुतो फाल्ने संस्कृति हराउँदै गएको छ ।

इष्टमित्र र चेलीबेटी जम्मा भएर दुःख सुख साट्ने पर्वका रूपमा साउने सङ्क्रान्ति आधुनिक प्रविधिको विकास र पश्चिमा संस्कृतिको प्रभावसँगै पुराना संस्कृति लोप हुन थालेको बुढापाका बताउँछन् ।

बिहानदेखि साँझसम्म टाढिएका आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन कम भएको निसीखोला गाउँपालिका–६ का ७८ वर्षीय तिलबहादुर बुढा मगरले बताउनुभयो ।

गाउँमा हाल पाँच/सात जना मात्रै पाका पुस्ता रहेकाले उहाँहरु रहँदासम्म मात्र परम्परा जिवित हुने अवस्था रहेको बुढा मगरकोे चिन्ता छ ।

“हामीले चाडबाड भन्दा प्रविधिलाई बढी महत्व दिन थालेका छौँ, हाम्रो बाउबाजेदेखिको पुराना चलनहरु पहिलेको तुलनामा अभ्यासमा अहिले निकै घटेको छ,” बुढा मगरले भन्नुभयो, “लुतो फाल्दा किरा फट्याङ्ग्राले बालीनाली नष्ट गर्दैन, शरीरमा रोग लाग्दैन भन्ने मान्यता छ ।”

साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि उक्त चलन हराएको तमानखोला गाउँपालिका–३ का पूर्णबहादुर घर्ती मगरले बताउनुभयो ।

लुतो फाल्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । यसरी लुतो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने जनविश्वास रहेको घर्ती मगरको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.