तुइनमै चुँडियो नारायणको सन्तानको अनुहार हेर्ने सपना
व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ, दार्चुला । बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो । नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना)को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो ।
श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै हुनुहुन्थ्यो, “सुत्केरीका लागि लत्ताकपडा, पोषिलो आहार र औषधि किन्न ।”
स्वास्थ्यकर्मीले उहाँको श्रीमती जानकीलाई यही साउन ७ गते सुत्केरी हुने समय दिएको छ । तर सन्तानको अनुहार हेर्ने र श्रीमतीका लागि सुत्केरी स्याहारका लागि सामान लिएर फर्किने त्यो यात्रा नारायणका लागि लागि अन्तिम बन्न पुग्यो ।
नारायण बिहानको समयमा गाउँका दुई साथीसहित महाकाली तर्ने तयारीमा हुनुहुन्थ्यो । नेपालतर्फबाट खलङ्गा पुग्ने पैदल मार्ग अप्ठ्यारो र समयलाग्दो थियो ।
त्यसैले धेरैजसोले महाकाली पार गरेर भारततर्फको सजिलो सडक मार्ग रोज्ने गरेका छन् र यो छोटो मार्गको हतारमा हरेक वर्ष स्थानीयको मृत्युवरण गर्नुपरेको छ । महाकाली नदी वारपार गर्ने गर्न झोलुङ्गे पुल नभएपछि स्थानीयवासीले अस्थायी तुइन प्रयोग गरेर यात्रा गर्ने गर्छन् ।
यही असार ३१ गते नारायण पनि त्यही तुइन पार गरेर सामान लिन हिँड्नु भएको थियो । उहाँसँगै गएका जितु पहिले तुइन पार गरे । डोरी खतरनाक रूपमा तन्कियो । उनी तर्दातर्दै डोरी महाकालीको छालतर्फ पुगिसकेको थियो ।
आधा लुगा भिजेरै भारतपट्टि पुगे जीतु । बल्लतल्ल ज्यान जोगाएर भारत पुगेका जितुले पारि (भारत) पुगेर गहिरो श्वास फेरे । तर आफूभन्दा पछाडि आउँदै थिए गाउँकै नारायण ।
जितुले तुइनमा चढेर वारि भारत आउँदै गरेका नारायणलाई हातको इशारामा नआउन भने तर नारायणले त्यो इशारा देख्नुभएन वा बुझ्नु भएन । चट्टानमा ठोक्किँदै आएको महाकालीको तीव्र वेग र चिच्चाहटले बोलेको सुन्ने सक्ने अवस्था थिएन ।
पिठ्यूँमा किनमेल गर्न बोकेको झोला, काँधमा आशाको भरोसा बोकेर तुइन समातेर नारायण महाकालीमाथि कुद्न लाग्नुभयो । बीचमा पुग्दा भारततर्फको खम्बा एक्कासि भाँचियो, नारायण सिधै महाकालीमा हेलिन पुग्नुभयो । बर्खाको उर्लंदो महाकालीको छालले सधैँका लागि महाकालीमा नारायण विलीन हुनुभयो ।
“मेरो इशारा मात्रै बुझेको भए नारायण पारि गाउँतर्फ नै रोकिन सक्नुहुन्थ्यो, अकालमै ज्यान जाने थिएन”, आफ्नै आँखाअगाडि सँगैको साथी गुमाउनु पर्दा असह्य पीडा भएको बताउँदै जितुले भन्नुभयो, ‘‘उहाँको घरमा भाउजू र सानो छोराको अवस्था देख्दा साह्रै चिन्ता लागेको छ ।’’
नारायणको बाटो पर्खेका श्रीमती जानकी अझै पनि घरको ढोकातिर आँखा गाडेर बसिरहनु भएको छ । परिवारको खुसीका लागि बच्चा जन्मनै लाग्दा श्रीमानको मृत्युको खबरले उहाँ भक्कानिएर बोल्नै सक्नुहुन्न । जन्मिनै लागेका शिशुको अनुहार नदेखीकन नारायण अस्ताउनुभयो उर्लंदो महाकालीको गर्जनमा ।




प्रतिक्रिया राख्नुहोस्