सरकार गठनका लागि अझै समय लाग्ने
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसके पनि समानुपातिकको परिणाम बाँकी रहेकाले नयाँ सरकार गठन गर्न अझै केही समय लाग्ने भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ११० जना उम्मेदवार टुङ्गो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्ने भएको हो ।
अन्तिम परिणाम सार्वजनिक गर्न अझै करिब एक साता लाग्ने हाल निर्वाचनको अन्तिम परिणामसमेत घोषणा भएको छैन । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
अन्तिम परिणाम घोषणा हुनुअघि निर्वाचन आयोगले समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार दलले पाउने प्रतिनिधि सभा सदस्यको सङ्ख्या निक्र्योल गर्ने छ ।
आज बुधबार समानुपातिकतर्फको गणना सकिएपछि दलहरूलाई बुधबार नै बन्दसूचीमा रहेका नामहरूमध्ये प्राप्त सिटबमोजिम समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गर्ने आयोगको तयारी छ ।
दलहरूबाट प्राप्त भएको नाम कानुनबमोजिम मिलेरनमिलेको छुट्टयाउने, त्रुटि सच्याउने, रुजु गर्नेलगायत प्रक्रियामा करिब तीन दिन लाग्नेछ । सोपछि आयोगले समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र उपलब्ध गराउने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र आयोगले राष्ट्रपतिसमक्ष सोसम्बन्धी प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ । यसरी प्रतिवेदन प्राप्त भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
त्यस्तै नेपालको संविधान, २०७२ को धारा ९३ (१) मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ । अधिवेशन आह्वान भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
अधिवेशन आह्वान भएपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बैठकमा प्रतिनिधि सभाका २७५ जना सदस्यले शपथग्रहण गर्ने छन् । अधिवेशन आह्वान भएको ३५ दिनभित्र प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त हुन योग्य दलले संसदीय दलको गठन गर्ने छ ।
निर्वाचन परिणाम प्राप्त गरिसकेको र बहुमत प्राप्त सम्बन्धित दलले आफ्नो संसदीय दलका नेता चयनबारे जानकारी गराएपछि राष्ट्रपतिले ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त गरिनेछ ।
सो धारामा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रपीरिषद्को गठन हुने उल्लेख छ ।
संविधानमा धारा ७६ को उपधारा २ वा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । तर प्रधानमन्त्री धारा ७६ (१) बमोजिम नियुक्त हुने भएकाले सो समयभित्र विश्वासको मत लिनुनपर्ने संवैधानिक कानुनका जानकार डा। ज्ञवाली बताउनुहुन्छ ।





प्रतिक्रिया राख्नुहोस्