शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको आरोप
मुलुकमा बालिकामाथि यौन दुव्र्यवहारका घटना बढिरहेका बेला बर्दियामा एक शिक्षकमाथि आफ्नै विद्यालयका छात्रामाथि यौन दुराचार गरेको आरोप लागेको छ ।
समाचार अनुसार जिल्लाको मधुवन नगरपालिका–५, रातामाटेस्थित आधारभूत विद्यालयमा कार्यरत शिक्षक यामप्रसाद शर्मामाथि आफ्नै छात्रालाई यौन दुराचार गरेको आरोप लागेको हो । आरोपी शिक्षक अहिले फरार छन् ।
होस्टेलमा बसेर अध्ययनरत ती छात्रालाई साँझ शिक्षकले घर पुर्याएर फर्कने क्रममा दुव्र्यवहार गरेका थिए। मोटरसाइकल स्ट्यान्डमा रोकेपछि शिक्षकले जबरजस्ती गर्न खोजेको र आफू कुनै रूपमा उम्किएर होस्टेल फर्कन सफल भएको जानकारी दिएकी छिन् ।
पीडित बालिका र उनका परिवारले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय ढोढरीमा जाहेरी दिएका छन्। जाहेरीमा शिक्षकले घटनाअघि र पछि पनि फोनमार्फत अश्लील कुरा गर्ने तथा अनुचित आशय राख्ने गरेको उल्लेख गरिएको छ।
एक प्रहरी अधिकृतले घटनाको प्रकृति हेर्दा करणी प्रयास भएको देखिए पनि बालिका जोगिन सफल भएको बताउँदै घटना बाहिरिएपछि सोधपुछ गर्दा पीडित पक्षले जाहेरी दर्ता गराएको र विद्यालयले भने सुरुमा घटना गुपचुप राख्ने प्रयास गरेको आरोप छ।
विद्यालयले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष नबुझाई आन्तरिक रूपमा हटाउने निर्णय गरेको जनाइएको छ। तर प्रहरी विद्यालय पुग्दा शिक्षक फरार भइसकेका थिए।
विद्यालयका प्रधानाध्यापक पर्शुराम चौधरीका अनुसार आरोपी शिक्षक गत जेठदेखि राहत दरबन्दीमा करारमा कार्यरत थिए। शिक्षकविरुद्ध विभिन्न गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिले उनलाई हटाउने निर्णय गरी नगरपालिकामा जानकारी गराइएको उहाँले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बाल यौन दुराचार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार आरोपित शिक्षक फरार रहेकाले खोजी कार्य जारी छ।




प्रतिक्रिया राख्नुहोस्