सम्पादकीय

नयाँ वर्ष २०८३- भरोसा, चुनौती र समृद्धिको कार्यदिशा

समयको चक्र निरन्तर घुमिरहन्छ। आजबाट नेपालीहरूले एउटा नयाँ वर्ष, २०८३ मा पाइला टेकेका छन्। ३६५ दिनको एउटा लामो यात्रा पूरा गरी भित्ताका पात्रोहरू फेरिएका छन्। पात्रो फेरिनु केवल अङ्क परिवर्तन हुनु मात्र होइन, यो नयाँ आशा, उत्साह र संकल्पको सङ्गम पनि हो।

वितेको वर्ष २०८२ ले नेपालीलाई धेरै उतारचढाव दियो। एकातिर राजनीतिक अस्थिरता र आर्थिक मन्दीको बादल मडारिएको थियो भने अर्कोतिर भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ जस्ता घटनाले इतिहासमा एउटा नमीठो छाप छोडे। तर, फागुन २१ को निर्वाचनले नेपाली राजनीतिमा एउटा नयाँ र शक्तिशाली मोड ल्याइदिएको छ, जसले २०८३ लाई ‘भरोसाको वर्ष’ बनाउने आधार खडा गरेको छ।

विगतमा नेपालको राजनीति “कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैन” भन्ने भाष्यमा जेलिएको थियो। मिश्रित निर्वाचन प्रणालीका कारण सधैँ जोडघटाउ र अस्थिर गठबन्धनको सरकार बन्ने परम्पराले देशको विकासलाई ठप्प पारेको थियो। तर, २०८२ को निर्वाचनले यो भाष्यलाई पूर्णतः गलत सावित गरिदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित प्राप्त गरेको प्रचण्ड बहुमतले जनता स्थिरता र परिवर्तनका लागि कति भोका रहेछन् भन्ने प्रस्ट पारेको छ।

नयाँ वर्ष २०८३ को सुरुवातसँगै बनेको यो शक्तिशाली सरकारसँग जनताका अपेक्षाहरू चुलिएका छन्। विगतमा भाषणमा मात्र सीमित रहेका ‘पानीजहाज’ र ‘बुलेट रेल’का सपनाभन्दा पनि जनताले अब ठोस र अनुभूतिजन्य परिवर्तन खोजेका छन्। सरकारले सार्वजनिक गरेका सय बुँदे कार्यसूची र त्यसको कार्यान्वयनको तत्परताले केही आशा जगाएको छ। तर, यो उत्साहलाई कायम राख्दै राजनीतिक प्रतिशोधभन्दा माथि उठेर विधिको शासन स्थापित गर्नु नै नयाँ वर्षको मुख्य चुनौती हो।

नेपालको अर्थतन्त्र लामो समयदेखि वैदेशिक रोजगारी र रेमिट्यान्सको जगमा टिकेको छ। युवाहरू खाडी र मलेसिया पलायन हुने अनि उनीहरूले पठाएको पैसाले राज्य चल्ने यो चक्रलाई नतोडी दिगो विकास सम्भव छैन। २०८३ साल आर्थिक क्रान्तिको वर्ष बन्नुपर्छ। नेपालको कृषि भूमिलाई आद्योगिकीकरण गर्ने, जलविद्युत् उत्पादनमा तीव्रता दिने र पर्यटन प्रवद्र्धनलाई आधुनिक ढङ्गले अगाडि बढाउने हो भने देशको कायापलट हुन समय लाग्दैन।

लगानीमैत्री वातावरणको निर्माण र डिजिटल अर्थतन्त्रतर्फको यात्रा अबको प्राथमिकता हुनुपर्छ। साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन दिँदै स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको पहिलो दायित्व हो। नयाँ वर्षमा सरकारले ‘नेपालको पानी, नेपालकै लगानी’ र ‘स्वदेशी श्रम, स्वदेशमै पसिना’ भन्ने नारालाई व्यवहारमा उतार्नुपर्छ।

विकास भनेको केवल सडक र पुल जस्ता भौतिक संरचना मात्र होइनन्। विकास त जनताको चेतना, नैतिकता र अनुशासनमा पनि देखिनुपर्छ। पछिल्लो समय समाजमा बढ्दो हिंसात्मक प्रवृत्ति र निराशालाई सम्बोधन गर्न नैतिक शिक्षा र सामाजिकीकरणको आवश्यकता छ। निराश मस्तिष्कले कहिल्यै सकारात्मक सोच्न सक्दैन। त्यसैले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार गरी युवाहरूलाई देशमै भविष्य देख्ने वातावरण बनाउनु पर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा सुशासन हो। भ्रष्टाचारले देशको जरा खोक्रो बनाएको छ। “तेरो र मेरो” नभनी दोषीलाई कानुनी कठघरामा उभ्याउने आँट नयाँ सरकारले देखाउनुपर्छ। जनताले शक्तिशाली सरकार बनाउन दिएको मत भ्रष्टाचार नियन्त्रण र सुशासनकै लागि हो। २०८३ सालमा एउटा पनि नेपालीले न्यायको खोजीमा भौँतारिनु नपरोस् र सरकारी सेवा लिन घुस खुवाउनु नपरोस् भन्ने सुनिश्चितता हुनुपर्छ।

संविधान जारी भएको एक दशक पुग्दा पनि धेरै कानुनहरू बन्न बाँकी छन्। संघीयताको पूर्ण कार्यान्वयन नहुँदा स्थानीय र प्रदेश तहले सोचेअनुरूप काम गर्न सकेका छैनन्। नयाँ वर्षले यी कानुनी अड्चनहरूलाई फुकाउने र संघीयताको फल गाउँ-गाउँसम्म पुर्‍याउने अवसर दिनुपर्छ। सिंहदरबारको अधिकार साँच्चिकै गाउँसम्म पुगेको अनुभूति गराउनु यो सरकारको संवैधानिक जिम्मेवारी हो।

नयाँ वर्ष २०८३ केवल पात्रोको पाना परिवर्तन होइन, यो नेपालीहरूको भाग्य र भविष्य बदल्ने प्रस्थान विन्दु हुनुपर्छ। विगतका गल्तीबाट पाठ सिक्दै, राजनीतिक इमानदारिता र आर्थिक दूरदृष्टि राखेर अघि बढ्ने हो भने समृद्ध नेपालको सपना टाढा छैन। २०८२ का निराशालाई विर्सिएर २०८३ मा सिर्जना र समृद्धिको नयाँ भाष्य लेखिनुपर्छ।

आगामी वर्षमा राजनीतिक स्थिरता कायम होस्, अर्थतन्त्र चलायमान बनोस् र प्रत्येक नेपालीको मुहारमा मुस्कान छाओस्। नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.