यूएईविरुद्धको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको दोस्रो तथा अन्तिम खेलमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । यस्तै यस खेलबाट अलराउण्डर सन्तोष यादवले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।
सोमबार भएको पहिलो खेलमा नेपाल ‘डिएल मेथड’का आधारमा यूएईसँग छ विकेटले पराजित भएको थियो । दुई खेलको सिरिजमा यूएई १-० ले अघि रहेको छ । नेपाललाई सिरिजलाई बराबरी गर्ने आजको खेल जित्नै पर्ने वाध्यता छ ।
नेपालमा लिग–२ पूर्व टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी विश्वकप लिग-२ अन्तर्गत मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला नेपालमै हुनेछ ।
हेड टु हेड हेर्ने हो भने नेपाल र यूएईले हालसम्म टी-२० आईमा १२ पटक भिडेका छन् । जसमा नेपाल छ खेलमा विजयी हुँदा यूएईले पनि छ खेलमा जित हासिल गरेको छ ।
नेपालमा पहिलो पटक फ्लड लाइटमा अन्तरराष्ट्रिय खेल खेलेको हो । यद्यपि यसअघि घरेलु प्रतियोगिता एनपिएल भने फ्लड लाइटमा खेलाइएको थियो । विश्वकपपछि नेपाली टोलीले अन्तरराष्ट्रिय खेल खेलेको हो । नेपाल र यूएई दुवै टोली भारत र श्रीलङ्कामा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप खेलेर आएका हुन् ।
यूएई र नेपाल दुवै ट्वान्टी २० विश्वकपमा समूह चरणबाट बाहिरिएका थिए । नेपालको प्लेइङ ११ मा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख , शाहब आलम , गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव , हेमन्त धामी र लोकेश बम रहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्