नेकपा एमालेद्वारा सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
नेकपा (एमाले)ले सुकुम्बासी बस्तीहरू हटाउँदा नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार एवं मानवताको आधारभूत मूल्यको सम्मान गर्न आग्रह गरेको छ ।
सामाजिक न्यायका सिद्धान्त तथा अन्तरराष्ट्रिय मानवअधिकारका आधारभूत मान्यताहरूको पालना गरेर गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि सम्मानजनक व्यवहार गर्न सो पार्टीले आग्रह गरेको हो ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीद्वारा आज जारी विज्ञप्तिमा सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग गाँसिएको जटिल विषय भएकाले यसलाई न्यायोचित र दीर्घकालीन समाधानका लागि विगतमा राष्ट्रिय भूमि आयोगको गठन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अगाडि बढाइएको स्मरण गराइएको छ ।
“जबर्जस्ती विस्थापन अन्तिम विकल्प हुन सक्दैन । प्रभावित व्यक्ति र परिवारसँग पूर्वपरामर्श, वैकल्पिक आवासको सुनिश्चितता, क्षतिपूर्ति, पुनर्वास तथा पुनस्र्थापना, बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका संवेदनशील समुदायको विशेष संरक्षण गर्नु सरकारको प्रमुख दायित्वभित्र पर्दछ,” विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया राख्नुहोस्