क्रिकेटखेल

आइसिसी महिला च्यालेन्ज ट्रफी : नेपालद्वारा रुवाण्डा ३८ रनले पराजित

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत मंगलबार भएको खेलमा नेपालले रुवाण्डालाई पराजित गरेको छ । मंगलबार भएको खेलमा नेपालले रुवाण्डालाई ३८ रनले पराजित गरेको हो ।

रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनायो । नेपालको लागि कप्तान इन्दु बर्माले ३३ रन बनाइन् भने कविता कुँवरले २४ रन जोडिन् ।

त्यस्तै रुबिना क्षेत्रीले ११ रन बनाइन् । रुवाण्डाको लागि हेनरिएट इसिम्वेले तीन विकेट लिइन् भने मारी बिमेन्यिमानाले दुई विकेट लिँदा रोजिन इरेरा र बेलिसे मुरेकाटेटेको भागमा समान एक-एक विकेट रह्यो ।

नेपालले दिएको १ सय ४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको रुवाण्डा १७.४ ओभरमा ६५ रनमा समेटियो । उसका लागि मारी बिमेन्यिमानाले १९ र जिओभानिस उवासेले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका लागि मनिशा उपाध्यायले तीन विकेट लिइन् भने कविता कुँवर, रचना चौधरी र रिया शर्माको भागमा समान दुइ-दुई विकेट रह्यो ।

जितसंगै नेपाल छ खेलमा छ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने सात खेलमा आठ अंक जोडेको रुवाण्डा दोस्रो र छ खेलमा १० अंक जोडेको अमेरिका शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.