भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा बैंगलुरुले दिल्ली क्यापिटल्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।
दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्ली १६ ओभर ३ बलमा ७५ रनमा समेटियो । दिल्लीको लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र कायल जेमिसनले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बैंगलुरुको लागि जोस हेजलवुडले चार विकेट लिए भने भुवनेश्वर कुमारले तीन विकेट लिँदा रशिक सलाम, सुयश शर्मा र क्रुनाल पाण्डेयको भागमा समान एक-एक विकेट रह्यो ।
७६ रनको सामन्य लक्ष्य बैंगलुरुले ६ ओभर ३ बलमै एक विकेट गुमाएर पूरा गर्यो । बैंगलुरुको लागि देवदत्त पडिक्कलले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३४ र विराट कोहली १५ बलमा १ चौका र २ छक्काको मद्दतमा २३ रनमा अविजित रहे । यस्तै जेकब बेथेलले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए । दिल्लीको लागि कायल जेमिसनले एक विकेट लिए ।
जितसँगै बैंगलुरु आठ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने समान खेलमा छ अंक जोडेको दिल्ली सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति पौने आठ बजे पन्जाब किंग्स र राजस्थान रोयल्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्