राजनीति

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।

शुक्रबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र सङ्गठनको झण्डा हस्तान्तरण गर्नुभयो । सोही अवसरमा अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गर्नुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्नुभयो ।

सङ्गठन सुधार केवल एक प्रमुखको कार्यकालमा सुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै उहाँले राष्ट्र, सङ्गठन र जनताको सुरक्षासँगै मातहत कर्मचारीको हितलाई सर्वोपरी राखी आफूले काम गरेको बताउनुभयो ।

त्यस अवसरमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सङ्गठनमा स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यावसायिक र जनउत्तरदायी सङ्गठनका रुपमा निरन्तर अघि बढाइने बताउनुभयो ।

उहाँले सङ्गठन विकास, सुदृढीकरण र संस्थागत सबलीकरणका लागि अघि सारिएका सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालीन मार्गदर्शनका रूपमा स्थापित गरिने बताउनुभयो ।

सङ्गठनलाई राज्य र जनताप्रति विश्वासयोग्य बनाउन सशस्त्र प्रहरी कर्मचारीको योगदान महत्त्वपूर्ण हुने उल्लेख गर्दै महानिरीक्षक पौडेलले भन्नुभयो, “उच्च नैतिक आचरण र दृढताले एउटा सशक्त सन्देश दिन्छ, जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ, जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ ।”

समारोहमा अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारीलगायत सशस्त्र प्रहरीका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको समेत उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.