आईसीसी विश्वकप लिग-२ मा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा ओमान घरेलु टिमसँग ८१ रनले पराजित भएको हो ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा १ बल बाँकी हुँदा २ स ५६ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ९४ रनको अर्धशतकीय पारी खेले भने अर्जुन कुमालले ८७ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए ।
त्यस्तै आरिफ शेख २४ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३३, गुल्सन झाले १७ तथा कप्तान रोहित पौडेल ९ रन जोडे । ओमानका लागि नदिम खानले तीन विकेट लिए भने, शकिल अहमदले दुई विकेट लिँदा जितेन रामानन्दी, हसनैन अलि शाह र आर्यन बिष्टको भागमा समान एक-एक विकेट रह्यो ।
नेपालले दिएको २ सय ५७ रनको लक्ष्य लिएर मैदान उत्रेको ओमान ३९ दशमलव ५ ओभरमा १ सय ७५ रनमा समेटियो । ओमानको लागि विनायक शुक्लाले ३६ रन बनाए भने हमाद मिर्जाले ३४ रन जोडे । यस्तै हसनैन उल वहाबले २९ रन जोड्दा हसनैन शाहले १४, जतिन्दर सिंहले १२ र वासिम अलिले १० रन बनाए । नेपालको लागि गुलसन झाले पाँच विकेट लिए भने दिपेन्द्रसिह ऎरी, करण केसी, नन्दन यादव र सन्दीप लामिछानेको भागमा समान एक-एक विकेट रह्यो ।
सिरिजमा नेपाल, यूएई र ओमानको सहभागिता रहेको थियो । नेपालले आफूले खेलेको चार मध्ये तीन खेल जितेको थियो भने ओमानले एक खेल जित्दा यूएईले दुई खेल जितेको थियो । नेपालले यूएईलाई दुवै खेलमा पराजित गरेको थियो भने ओमानसँग एक खेलमा पराजित भएको थियो । ओमानले नेपाललाई एक खेलमा पराजित गर्दा यूएईले ओमानलाई दुवै खेलमा पराजित गरेको थियो ।
यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेलेका थिए । नेपाल २४ खेलमा ८ जित, १४ हार र २ खेलको नतिजाविहिन हुँदा १८ अंक जोड्दै सातौं स्थानमा छ भने २८ खेल खेलेको ओमान भने १४ जित, ११ हार र ३ खेलको नतिजा नआउँदा ३१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै २४ खेल खेलेको यूएई ७ जित सहित १४ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्