जन सरोकार

चितवनमा मह उत्पादनमा कमी

चितवन जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो ।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो । जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ । यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो ।

उहाँले भन्नुभयो, “बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ ।” तोरीमा एक पटकमा तीन चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा दई पटक मह काटेको उहाँले बताउनुभयो ।

यस्तै चिउरीमा पाँच पटकसम्म मह काटिन्थ्यो भने यस पटक तीन पटक मात्र काटेका छन् । अहिले घारको सङ्ख्या बढे पनि उत्पादनमा कमी आएको उहाँले जानकारी दिनुभयो ।

गत वर्षमा मौरीपालक किसानमध्ये ७० प्रतिशतले छ पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले ३० प्रतिशत किसानले मात्र छ पटक मह निकालेका छन् ।

जिल्लामा ४५० जना व्यावसायिक मौरीपालक किसान रहेका छन् । जिल्लामा विशेष गरी चिउरी र तोरीको मह ८० प्रतिशत उत्पादन हुँदै आएको छ । बीस प्रतिशत मह रुदिलो, फापर, पड्के, लिचीलगायतबाट उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.