क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेले खटायो प्रतिनिधि, देउवा समूह पनि सक्रिय
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई सहज र द्रुत बनाउन प्रदेशगत रूपमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।
सोमबार पार्टी सभापति गगन थापाको उपस्थिति र संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सानेपामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
प्रदेशगत रूपमा खटाइएका प्रतिनिधिहरूमा कोशीमा सहमहामन्त्री डिला संग्रौला, बागमतीमा सहमहामन्त्री बहादुर सिंह लामा, सुदूरपश्चिममा सहमहामन्त्री उदयशम्शेर राणा, गण्डकीमा नेतृ मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेसमा प्रवक्ता देवराज चालिसे र लुम्बिनीमा अमरसिंह पुनलाई जिम्मेवारी दिइएको छ।
त्यसै गरी, सदस्यता सम्बन्धी समस्या देखिएका आठ देशका समितिमा अध्ययन गरी समाधानका लागि समन्वय गर्ने निर्णय गरिएको छ। बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।
विभिन्न पार्टीबाट कांग्रेसमा समायोजन भएका सदस्यहरूको हकमा देखिएका समस्या समाधान गर्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ।
त्यस्तै विभिन्न जिल्लामा सदस्यता विवाद समाधानका लागि केन्द्रीय प्रतिनिधि समेत खटाइएको छ। बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौंमा प्रतिनिधि तोकिएको कांग्रेसले जनाएको छ।
बैठकले १५ औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा यसअघि नवीकरण हुन नसकेका सदस्यहरूको विवरण नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ।
त्यस्तै, १४ औं महाधिवेशनका क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिबाट स्वीकृत भएका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि गरिएको छ।
कांग्रेस जनसम्पर्क समितिका हकमा अधिवेशन सम्पन्न भएका सात देशका समितिको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाका लागि अनुमति दिने निर्णय गरिएको छ।
समस्या नरहेका १५ देशका समितिलाई अद्यावधिक गरी अधिवेशन तालिका पेश गर्न निर्देशन दिइएको छ भने १४ औं महाधिवेशनपछि कम सम्पर्कमा रहेका सात देशका समितिमा नवीकरण र नयाँ सदस्यता वितरण गर्न परिपत्र गर्ने निर्णय पनि गरिएको छ।
कांग्रेसले वैशाखदेखि नै ‘जरा अभियान’सँगै क्रियाशील सदस्यता अद्यावधिकको काम अघि बढाउँदै आएको छ। आगामी १५ औं महाधिवेशनलाई लक्षित गर्दै सदस्यताको विवरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी पनि भइरहेको नेताहरूले बताएका छन्।
यसैबीच, पार्टीका पूर्व सभापति शेरबहादुर देउवा समूहले पनि महाधिवेशन केन्द्रित आन्तरिक छलफल र संगठनात्मक तयारीलाई तीव्र बनाइरहेको छ।
सदस्यता अद्यावधिक तथा प्रतिनिधि व्यवस्थापनमा आफ्नो प्रभाव सुदृढ बनाउने रणनीतिमा उक्त समूह सक्रिय रहेको स्रोतहरूले जनाएका छन्।




प्रतिक्रिया राख्नुहोस्