सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिबेला भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितीन नवीनको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा छन्। जेठ १७ गते भारत प्रस्थान गरेका लामिछानेको भ्रमणलाई सामान्य कूटनीतिक कार्यक्रमभन्दा बढी राजनीतिक अर्थका साथ हेरिएको छ।
केही समययता नेपाल–भारत सम्बन्धमा विभिन्न विषयलाई लिएर तिक्तता देखिएको चर्चा भइरहेका बेला नयाँ दिल्लीमा लामिछानेलाई दिइएको उच्चस्तरीय स्वागत र भारतीय नेतृत्वसँगको संवादले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिन सक्ने अपेक्षा बढाएको छ।
खुला सीमा, ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पारिवारिक सम्बन्धले जोडिएका नेपाल र भारतबीचको सम्बन्ध केवल सरकार–सरकारबीच सीमित छैन। लाखौं नेपाली नागरिक भारतमा रोजगारी, व्यवसाय र अध्ययनमा संलग्न छन् भने उल्लेख्य संख्यामा भारतीय नागरिक पनि नेपालमा विभिन्न क्षेत्रमा कार्यरत छन्।
यो जनस्तरसम्म फैलिएको सम्बन्ध हो। यही विशेष सम्बन्धलाई आधुनिक आर्थिक साझेदारीमा रूपान्तरण गर्नु आजको प्रमुख आवश्यकता बनेको छ। विश्लेषकहरूका अनुसार लामिछानेको भ्रमणले त्यस दिशामा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।
भ्रमणको दोस्रो दिन जेठ १९ गते भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत लामिछानेले नेपाल–भारत सम्बन्धलाई केवल इतिहास र भावनामा सीमित नराखी आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, पर्यटन र प्रविधिमा केन्द्रित सहकार्यतर्फ उन्मुख हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
आजको विश्वमा मित्रताको वास्तविक मापन आर्थिक साझेदारी, लगानी र विकासका अवसरबाट हुने भएकाले परम्परागत निकटतालाई साझा समृद्धिको आधार बनाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभको छ ।
नेपाल–भारत सम्बन्धमा समय–समयमा देखिने सीमा विवाद पनि संवेदनशील विषयका रूपमा रहेको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताजस्ता क्षेत्रमा दुवै देशका आ–आफ्ना दाबी छन्।
यस्ता विवादले जनस्तरमा भावनात्मक प्रतिक्रिया उत्पन्न गर्ने गरेका छन्। तर इतिहासले देखाएको तथ्य के हो भने यस्ता जटिल विषयको दीर्घकालीन समाधान संवाद, कूटनीति र आपसी समझदारीबाट मात्रै सम्भव हुन्छ।
विश्लेषकहरूका अनुसार लामिछानेको भ्रमणले यस्ता विषयलाई टकरावको होइन, संवादको माध्यमबाट समाधान खोज्ने वातावरण निर्माण गर्न सहयोग पुग्न सक्छ। सीमा विवादलाई राजनीतिक नाराबाजीको विषयभन्दा पनि तथ्य, प्रमाण र कूटनीतिक प्रक्रियाका आधारमा समाधान गर्ने प्रयासले सम्बन्धलाई अझ परिपक्व बनाउने विश्वास गरिएको छ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा व्यक्त गरेको सीमासम्बन्धी अभिव्यक्तिले नेपालमा व्यापक बहस सिर्जना गरेको छ।
राष्ट्रिय स्वाभिमान र सीमाका विषयमा जनभावना संवेदनशील रहने भएकाले यस्ता अभिव्यक्तिले राजनीतिक तरंग उत्पन्न गर्नु स्वाभाविक मानिन्छ। तर दुई देशबीचका जटिल विषय समाधानका लागि भावनात्मक प्रतिक्रियाभन्दा संयमित कूटनीतिक पहल बढी प्रभावकारी हुने मत पनि व्यक्त भइरहेको छ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। ऊर्जा निर्यात, जलस्रोत विकास, कृषि आधुनिकीकरण, रेल तथा सडक पूर्वाधार, सूचना प्रविधि र पर्यटनका क्षेत्रमा भारतीय लगानी तथा सहकार्यले नेपालको विकास यात्रामा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। नेपालमा उत्पादित विद्युत् भारतको विशाल बजारमा निर्यात गर्ने सम्भावनालाई आगामी दशकमा नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा हेरिएको छ।
धार्मिक पर्यटन पनि दुवै देशका लागि ठूलो अवसरको क्षेत्र हो। पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथलाई अयोध्या, वाराणसी र बोधगयासँग जोडेर साझा पर्यटन सर्किट विकास गर्न सकिए दुवै देशले उल्लेख्य आर्थिक लाभ प्राप्त गर्न सक्छन्। सांस्कृतिक निकटतालाई आर्थिक अवसरमा रूपान्तरण गर्ने सोचले सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास गरिएको छ।
समग्रमा, लामिछानेको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा विश्वास, संवाद र सहकार्यको नयाँ अध्याय सुरु गर्ने सम्भावना बोकेको विश्लेषकहरूको भनाइ छ। सीमा विवाद समाधानका लागि सकारात्मक वातावरण निर्माण गर्ने, आर्थिक साझेदारी विस्तार गर्ने तथा ऐतिहासिक सम्बन्धलाई आधुनिक विकासको आधारमा रूपान्तरण गर्ने दृष्टिले यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ।
यद्यपि नेपालप्रति भारतको दृष्टिकोण कुनै एक सरकार वा नेताको आगमनसँगै पूर्ण रूपमा परिवर्तन हुने अपेक्षा गर्नु मुर्खता हुनेछ । भारतको विदेश नीति र छिमेकी नीति राजनीतिक नेतृत्व, सुरक्षा निकाय, विदेश मन्त्रालय, गुप्तचर संयन्त्र तथा स्थायी प्रशासनिक संरचनाको साझा दृष्टिकोणबाट निर्देशित हुने भएकाले कुनै एक भ्रमणले मात्रै भारतको नेपाल नीति आमूल परिवर्तन हुने अपेक्षा यथार्थपरक नहुन सक्छ।
तर पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, विद्युत् खरिद, डिजिटल कनेक्टिभिटी, रेल तथा सडक पूर्वाधार, पर्यटन र लगानीका क्षेत्रमा भारतले नेपाललाई आर्थिक साझेदारका रूपमा हेर्न थालेको संकेत देखिएको छ। विशेष गरी नेपालको जलविद्युत् भारतका लागि स्वच्छ ऊर्जा स्रोत बन्न सक्ने सम्भावनाले आर्थिक सहकार्यको दायरा विस्तार हुँदै गएको छ।
यदि लामिछानेको भ्रमणले नयाँ राजनीतिक विश्वास निर्माण गर्न सफल भयो भने भारतको सत्ता र प्रशासनिक संयन्त्रमा नेपाललाई हेर्ने दृष्टिकोण थप सकारात्मक बन्न सक्ने आँकलन गरिएको छ।
दिल्लीमा रवि लामिछानेको स्वागत र उच्चस्तरीय भेटघाटलाई सामान्य शिष्टाचार भ्रमणभन्दा बढी महत्त्वका साथ हेरिएको छ। यसले भारतले नेपालका परम्परागत दलहरू मात्र होइन, नयाँ राजनीतिक शक्तिहरूसँग पनि सम्बन्ध विस्तार गर्न चाहेको संकेत दिन्छ।
अर्कोतर्फ, रास्वपाका लागि यो आफूलाई राष्ट्रिय राजनीतिबाट क्षेत्रीय कूटनीतिक मञ्चमा उभ्याउने अवसरका रूपमा देखिएको छ। सभापति लामिछानेको दिल्ली भ्रमणका सम्भावित एजेण्डामा नेपाल–भारत राजनीतिक सम्बन्धका साथ व्यापार, लगाी र आर्थिक सहकार्य, सीमा व्यवस्थापन र द्विपक्षीय सहयोगमा केन्द्रित हुने बताइएको छ ।
यद्यपि सीमा विवादजस्ता विषय तत्काल समाधान हुने सम्भावना कम भए पनि संवादका संयन्त्रलाई सक्रिय बनाउने, विश्वासको वातावरण सुदृढ गर्ने र विवाद व्यवस्थापनलाई संस्थागत बनाउने दिशामा प्रगति हुनसक्ने अपेक्षा गरिएको छ।
लामिछानेको भ्रमणपछि भारतको सत्ता र नोकशाहीले नेपाललाई हेर्ने शैलीमा केही सकारात्मक परिवर्तन आउन सक्छ, सम्बन्धको भाषाशैली बदलिन सक्छ र आर्थिक सहकार्यले नयाँ गति लिन सक्छ। तर आधारभूत नीतिहरू भने छोटो अवधिमै परिवर्तन हुने सम्भावना न्यून देखिन्छ।
त्यसैले यो भ्रमणलाई परम्परा निर्वाहको एउटा चरणका रुपमा मात्र नहेरी भविष्यको सम्बन्ध निर्माण गर्ने सम्भावित आधारशिलाका रूपमा हेर्नु उपयुक्त हुने र नेपालको राजनीतिक दलका नेताहरुप्रति भारतको दृष्टिकोण परिवर्तन गर्ने सुनौलो अवसरका रुपमा लिइएको छ ।




प्रतिक्रिया राख्नुहोस्