युनेस्को काठमाडौँद्वारा थामेमा अभौतिक सम्पदाको सूचीकरण आरम्भ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौँले सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिका–५, थामेका अभौतिक सम्पदाको सूचीकरण आरम्भ गरेको छ ।
विसं २०८१ साउन ३२ गते त्यहाँ भएको हिमताल विस्फोटपश्चातको बाढीका कारण बस्ती र सम्पदा प्रभावित भएपछि युनेस्को काठमाडौँले परियोजना तर्जुमा गरेर विज्ञसहितको अध्ययन टोली थामेमा पठाएको थियो ।
समुदायको सहभागितामा गरिएको अध्ययनको निष्कर्षका आधारमा मंगलबार भक्तपुरको नगरकोटमा आयोजित छलफल कार्यक्रममा थामेमा सूचीकरणको प्रक्रियामा रहेका सांस्कृतिक सम्पदाहरुको जानकारी दिइएको हो ।
उक्त सूचीमा खानाका परिकारतर्फ आलु रोटी, सोर्किम, थो र रिल्दोम (आलुको परिकार) तथा चाडपर्व र रीतिरिवाजतर्फ मणि रिम्दु, दुम्जी, लोसार, छेचु, चिरिम र बिदाइको रितलगायत रहेको अध्येता डा नीलकमल चापागाईंले बताउनुभयो । उहाँले विस्तृत अध्ययन गर्दा उक्त सूची बढ्न सक्ने जनाउँदै थामेमा बस्ती विस्थापनसमेत हुन थालेकाले जीवन्त सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सहसचिव डा सुरेशसुरज श्रेष्ठले युनेस्को मुख्यालयको नीतिलाई पालना गर्दै नेपाल सरकारले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणको काम सुरु गरिसकेको जानकारी दिनुभयो ।
उहाँले सातै प्रदेशमा अभौतिक सम्पदा सूचीकरणको अभियान सञ्चालन गरेर आह्वान गर्दा गतवर्ष १०५ सम्पदा सूचीकरणका लागि आवेदन आएकामा अहिलेसम्म नेवार सुदायको योमरी परिकार सूचीकरणमा परेको बताउनुभयो । योरमरीलाई युनेस्कोको मार्गदर्शनअनुसार अन्तरराष्ट्रियस्तरमा सूचीकरणका लागि प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा पारित गरेको अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धिलाई नेपालले सन् २०१० मा अनुमोदन गरेको थियो ।
कार्यक्रममा युनेस्कोका लागि नेपाल प्रतिनिधि याको डु तोइटले हिमाली क्षेत्रमा बसोवास गर्दै आएको शेर्पा समुदायलाई केन्द्रमा राखेर उक्त अध्ययन गरिएको र यसलाई सरोकारवाला पक्षबाट प्राप्त सुझावका आधारमा प्रकाशन गरिने बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक अर्चना श्रेष्ठले नेपालमा अहिलेससम्म चार वटा हिमताल फुटिसकेको र हिमलात फुट्दा स्थानीयको जनजीवनमा गम्भीर असर पर्ने भएकाले पूर्व सचेतनामा ध्यान दिनुपर्ने बताउनुभयो ।
सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले थामेका शेर्पा समुदाय सम्पदा संरक्षणमा कटिबद्ध हुनाका साथै काटमार नगर्ने र जङ्गली जनावरलाई बाली खान दिने स्वभावका भएको अनुभव सुनाउनुभयो ।
नेपालमा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र अभिलेखीकरणका लागि मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि २०८१ तयार गरेको छ । सो सम्बन्ध िविधेयक हालै राष्ट्रियसभाबाट पारित भएको छ ।
कार्यक्रममा प्राकृतिक विपद्बाट थामे समुदायमा परेको प्रभावबारे बनाइएको वृत्तचित्र सार्वजनिक गरिएको थियो ।




प्रतिक्रिया राख्नुहोस्