अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा
जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जनालाई दुई लाख जरिवाना गराएर छाडेको छ ।
भोजपुर नगरपालिका–९, पानीट्याङ्कीबाट अवैध जडीबुटीसहित आइतबार पक्राउ परेका उनीहरुलाई मङ्गलबार जरिवाना गराएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सिमरा नगरपालिका–१८ का २१ वर्षीय सन्तोषकुमार नट, सर्लाहीको ईश्वरपुर नगरपालिका–५ का २० वर्षीय रबिकिसन नट, सोही ठाउँका २२ वर्षीय सुरेन्द्र नट, ३३ वर्षीय अजयकुमार नट र सिरहा कर्जना नगरपालिका–५ का ३० वर्षीय जितेन्द्रकुमार राठोर रहेको प्रहरी प्रमुख लामाले बताउनुभयो ।
स्थानीयवासीलाई अवैध जडीबुटीहरु बेच्दै गरेको अवस्थामा संलग्नहरुलाई पक्राउ गरी कानुनी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएकामा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम एकमुष्ट रु दुई लाख जरिवाना हुने गरी कारबाही गरिएको छ । पक्राउ परेकाहरुले तोकिएको जरिवाना रकम जम्मा गरेकाले आज छोडिएको प्रहरी प्रमुख लामाले बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्