सशस्त्र प्रहरी बल नेपालले भन्सार छलिको आशंकामा मुस्ताङ-कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय (ईभी) गाडी नियन्त्रणमा लिएको छ।
बुधबार राति सञ्चालन गरिएको विशेष सुरक्षात्मक कारबाहीका क्रममा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा तथा कास्कीको हेम्जा क्षेत्रबाट ती गाडीहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
पछिल्लो समय विद्युतीय सवारीसाधनको आयात तीव्र रूपमा बढिरहेका बेला ठूलो सङ्ख्यामा गाडी नियन्त्रणमा लिइनु अर्थतन्त्र, भन्सार प्रशासन र राजस्व संकलनसँग जोडिएको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
कारबाहीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो। विभिन्न स्थानमा समन्वित निगरानी र जाँच अभियान सञ्चालन गरी गाडीहरू नियन्त्रणमा लिइएको जनाइएको छ।
यसैबीच, नुवाकोटस्थित पासाङल्हामु सडकखण्डबाट थप दुई वटा विद्युतीय गाडी पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
नियन्त्रणमा लिइएका सबै सवारीसाधनहरू आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई बुझाइने तयारी गरिएको छ। प्रारम्भिक रूपमा भन्सार प्रक्रिया, आयात अनुमति र राजस्व भुक्तानीसम्बन्धी कागजातको परीक्षण गरिने बताइएको छ।
यति ठूलो सङ्ख्यामा विद्युतीय गाडी एकैपटक नियन्त्रणमा परेको घटना नेपालमा ईभी आयात, सीमा व्यवस्थापन तथा भन्सार प्रणालीको प्रभावकारिताबारे थप बहसको विषय बनेको छ।
अनुसन्धानबाट वास्तविक अवस्था सार्वजनिक भएपछि यस घटनाले राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षा व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्