राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक, २०८१’ माथि छलफल प्रारम्भ भएको छ ।
राष्ट्रियसभाबाट गत माघ २३ गते पारित भएको सो विधेयकमा प्रतिनिधिसभाको समितिमा छलफलका लागि पठाइएको थियो । समितिको बिहीबारको बैठकमा विधेयकमाथि परेका संशोधन र विज्ञसमेतको सुझावका आधारमा विधेयकलाई परिस्कृत गर्न सदस्यहरूले जोड दिनुभएको थियो ।
समितिमा भएको सैद्धान्तिक छलफलमा जवाफ दिँदै शिक्षा तथ खेलकुदमन्त्री सस्मित पोखरेलले सो विधेयकमा धेरै कुरा परमार्जन गर्न आवश्यक भएका सन्दर्भमा सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास दिलाउनुभयो ।
उहाँले ‘डिएनए’ परीक्षण र यसलाई न्याय प्रक्रियामा लाने सवालमा हुनसक्ने समस्या र अन्तरविरोध कसरी हल गर्न सकिन्छ भनेर छलफल गर्नुपर्ने बताउनुभयो । मन्त्री पोखरेलले विज्ञहरूसँग पनि छलफल गरेर विधेयकमाथि अधिकतम् संशोधनका लागि आवश्यक संशोधन र सहजीकरण गर्न आग्रह गर्नुभयो ।
नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट नव स्थापित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हाल प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्नुभएको अवस्थामा समितिको सो छलफलमा शिक्षामन्त्री पोखरेल सहभागी हुनुभएको हो ।




प्रतिक्रिया राख्नुहोस्