कामपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाका जनप्रतिनिधिलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ ।
महानगरपालिकाका वडा नं १ देखि १६ सम्मका जनप्रतिनिधिलाई पहिलो चरणमा र वडा नं १७ देखि ३२ सम्मका जनप्रतिनिधिलाई दोस्रो चरणमा तालिम दिइएको हो ।
कार्यक्रममा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले ‘मानव बेचबिखनविरुद्ध राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन र मानव बेचबिखन न्यूनीकरण तथा प्रभावितको संरक्षणमा ब्यूरोको भूमिका’ विषयक प्रस्तुती गर्नुभएको थियो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तप्रसाद पन्थीले ‘मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति-२०८२ र मन्त्रालयको भूमिका’ विषयक प्रस्तुती गर्नुभएको थियो ।
महानगरपालिका राजस्व विभागका प्रमुख दीपक अधिकारीले ‘काठमाडौँ महानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि, २०७८’ विषयमा केन्द्रित भएर प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रम समापनका अवसरमा महानगरपालिका वडा नं १० का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकुमार केसी, सामाजिक विकास समितिका सदस्य एवं महानगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ र वडा नं २९ का वडाध्यक्ष कुश ढकाललगायतले अभिमुुखीकरण तालिममा सिकेका विषय व्यावहारिक कार्यान्वयन गर्न आह्वान गर्नुभएको थियो । कार्यक्रममा ३२ वटै वडाका जनप्रतिनिधिको सहभागिता थियो ।




प्रतिक्रिया राख्नुहोस्