देशप्रतिको ‘पिरती’ले मन्त्री बनायो : मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको प्रमुख प्राथमिकता कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि तथा नवप्रवर्तनको विकासमार्फत देशलाई तीव्र गतिमा अगाडि बढाउनु रहेको बताउनुभएको छ।
बिहीबार प्रतिनिधि सभामा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले अनुसन्धान, नवप्रवर्तन र प्रविधिलाई प्रयोगशाला तथा शोधपत्रमा सीमित नराखी उत्पादन, उद्योग, रोजगारी र सार्वजनिक सेवासँग जोड्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो।
मन्त्री पुनले प्रधानमन्त्री बालेन्द्र साह स्वयं सूचना प्रविधि र एआईको विकासप्रति विशेष रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै देशको समग्र डिजिटल रूपान्तरणलाई तीव्रता दिन विभिन्न निकायमा छरिएर रहेका सूचना प्रविधिसम्बन्धी जिम्मेवारीहरू एकीकृत गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार सूचना प्रविधिको विकास कुनै एउटा मन्त्रालय वा व्यक्तिको काम नभई राष्ट्रिय अभियान भएकाले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा प्राविधिक समुदाय सबैको साझा सहभागिता आवश्यक छ।
संसद्मा जवाफ दिने क्रममा मन्त्री पुनले नेपालले अब परम्परागत विकास मोडेलभन्दा प्रविधिमा आधारित अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले विकसित राष्ट्रहरूले एआई, डाटा, रोबोटिक्स र डिजिटल प्रविधिको प्रयोगमार्फत उत्पादनशीलता बढाइरहेका बेला नेपालले पनि समयमै तयारी नगरे प्रतिस्पर्धामा पछाडि पर्न सक्ने चेतावनी दिनुभयो।
सूचना प्रविधिलाई केवल सफ्टवेयर वा कम्प्युटरको विषयका रूपमा नहेरी कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सार्वजनिक प्रशासनसँग जोडेर प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
अनुसन्धान र नवप्रवर्तनका उपलब्धिहरू उद्योग तथा व्यवसायसँग जोडिन नसक्नु नेपालको प्रमुख कमजोरी भएको उल्लेख गर्दै मन्त्री पुनले विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रबीचको सहकार्य बढाउनुपर्ने बताउनुभयो।
“कसैले नयाँ प्रविधि विकास गर्छ भने त्यसको प्रत्यक्ष लाभ उद्योगले पाउनुपर्छ। अनुसन्धान र नवप्रवर्तन भनेको केवल कागजमा लेखेर राख्ने वा शोधपत्र प्रकाशित गर्ने विषय होइन, त्यसले उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा योगदान गर्नुपर्छ,” उहाँको भनाइ थियो।
उहाँले नेपालमा नवप्रवर्तनका धेरै सम्भावना हुँदाहुँदै पनि लगानी, नीतिगत सहजीकरण र बजारसँगको सम्बन्ध कमजोर रहेको उल्लेख गर्नुभयो। सूचना प्रविधिको प्रयोगबाट उद्योगधन्दा र उत्पादन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सकिने भए पनि त्यसबारे उद्योग व्यवसायीहरूमा अझै पर्याप्त सचेतना नदेखिएको उहाँको भनाइ थियो।
सरकारले नवप्रवर्तनमैत्री वातावरण निर्माण, स्टार्टअप प्रवर्द्धन, अनुसन्धानमा आधारित उद्यम विकास तथा युवालाई प्रविधिमार्फत उद्यमशीलतामा आकर्षित गर्ने योजनामा काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।
सांसदहरूले विज्ञान तथा प्रविधि क्षेत्रमा बजेटको सीमितता, अनुसन्धानमा लगानीको अभाव तथा दक्ष जनशक्तिको विदेश पलायनबारे उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री पुनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै परिणाममुखी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
विज्ञान र प्रविधिको क्षेत्रमा गरिएको लगानीलाई खर्च नभई भविष्यको पूँजीका रूपमा हेर्नुपर्ने धारणा राख्दै उहाँले अनुसन्धानबाट प्राप्त ज्ञानलाई प्रत्यक्ष उत्पादन र सेवासँग जोड्न सके मात्रै त्यसको वास्तविक प्रतिफल प्राप्त हुने बताउनुभयो।
जवाफको क्रममा मन्त्री पुनले आफ्नो व्यक्तिगत जीवन अनुभव पनि सुनाउनुभयो। देशप्रतिको निस्वार्थ प्रेम र सेवाभावकै कारण आफू राजनीति र मन्त्री पदसम्म आइपुगेको उल्लेख गर्दै उहाँले सुरुवातमा गाउँको विकासका लागि काम गर्ने उद्देश्यले नेपाल आएको स्मरण गर्नुभयो। पछि त्यो भावना जिल्ला हुँदै सिंगो देशप्रतिको जिम्मेवारीमा रूपान्तरित भएको उहाँको भनाइ थियो।
पुरानो चर्चित गीतको प्रसंग उल्लेख गर्दै मन्त्री पुनले भन्नुभयो, “’म त यस्तो थिइनँ दाइ, पिरतीले जोगी बनायो’ भन्ने गीतजस्तै म पनि सांसद वा मन्त्री बन्ने उद्देश्य लिएर आएको मान्छे होइन। देशप्रतिको पिरतीले मलाई यहाँसम्म ल्यायो। अमेरिकाबाट घुम्न आएको मान्छे गाउँसँग जोडिएँ, त्यसपछि जिल्ला र अन्ततः सिंगो देशसँग पिरती बस्यो। त्यही पिरतीले मलाई जोगी जस्तै बनाएको छ।”
उहाँले पद र प्रतिष्ठाभन्दा देशको विकास र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै विज्ञान, प्रविधि र नवप्रवर्तनको माध्यमबाट नेपाललाई आत्मनिर्भर, प्रतिस्पर्धी र समृद्ध राष्ट्र बनाउने अभियानमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
मन्त्री पुनले एआई र सूचना प्रविधिलाई आगामी दशकको मुख्य विकास इन्जिनका रूपमा प्रयोग गर्न सके नेपालले आर्थिक रूपान्तरणको नयाँ अध्याय सुरु गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।




प्रतिक्रिया राख्नुहोस्