नागरिकले कर्तव्य पूरा गरे, अब परिणाम देखाउने जिम्मेवारी रास्वपाको काँधमा छ : महामन्त्री शाह
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले निर्वाचनमार्फत नागरिकले आफ्नो कर्तव्य पूरा गरिसकेकाले अब परिणाम देखाउने जिम्मेवारी रास्वापको काँधमा आएको बताउनुभएको छ ।
चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा मंगलबार सम्बोधन गर्दै उहाँले लोकतन्त्र र संविधानका सिद्धान्त र मूल्य–मान्यतालाई अझ गहिरो तथा दिगो रूपमा संस्थागत र सुशासनलाई व्यवहारमा उतार्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु अहिलेको मुख्य राष्ट्रिय कार्यभार भएको बताउनुभयो ।
“हामीले युवा नेतृत्व, नयाँ विकल्प, बहुमत र दुई तिहाइ मत चाहिन्छ भन्यौँ, नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिएँ, नयाँ शक्तिलाई विश्वास गरेर मत दिएँ, बहुमत दिएँ, र दुई तिहाइ पनि दिएँ,” महामन्त्री शाहले भन्नुभयो, “हामीले मागेको हरेक कुरा र अपेक्षा नागरिकले पूरा गरेका छन् । अब दिने पालो रास्वपा र सरकारको हो ।”
एक्काइसौँ शताब्दीमा सुशासन र भौतिक पूर्वाधारको विस्तार मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले नागरिकको आर्थिक उन्नतितर्फ पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । समृद्धिको जनअपेक्षा पार्टी र सरकारको साझा प्रतिबद्धता र सहकार्यबाट मात्र सम्भव हुने उहाँको भनाइ छ ।
वैकल्पिक राजनीतिको नेतृत्व गर्दै गर्दा रास्वपाले व्यापक जनसमर्थन र चुनौतीलाई स्वीकार गरेर आफूलाई परिष्कृत गर्दै लगिरहेको जनाउँदै महामन्त्री शाहले पार्टी ठूलो हुनु मात्र पर्याप्त नभई जिम्मेवार हुनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
रास्वपा साङ्गठनिक रूपमा देश हाँक्न सक्षम छ र कम्तीमा २० वर्षसम्म देशलाई सही दिशामा अघि बढाउन सक्ने क्षमता छ भन्ने सन्देश महाधिवेशनले दिएको महामन्त्री शाहले बताउनुभयो । महाधिवशेनले पार्टी एकताबद्ध छ भन्ने सन्देश पनि स्पष्ट रूपमा दिनुपर्ने उहाँको भनाइ छ ।
बहुलता र विविधतामा आधारित खुला समाजमा हरेक युवा र नागरिकको आत्मसम्मानपूर्वक स्वदेशमै गरिखाने सपना पूरा हुनुपर्नेमा जोड दिँदै उहाँले रास्वपाको ध्येय यही आशा जगाउने, अवसर जुटाउने र बाटो देखाउने हुनुपर्छ भन्नुभयो ।
पार्टीभित्र विचार, अनुभव र कार्यशैली फरक–फरक हुन सक्ने भन्दै महामन्त्री शाहले गन्तव्य भने फरक हुन नसक्ने बताउनुभयो । “लोकतन्त्रको सुन्दरता विविधतामा हुन्छ, तर सङ्गठनको शक्ति एकतामा हुन्छ, त्यसैले विचारको विविधतालाई विभाजन होइन, शक्ति बनाउँदै विधि, मर्यादा र अनुशासनको साझा घेराभित्र अघि बढ्नु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्