राजनीति

रास्वपा महाधिवेशनमा गडबडी पुष्टि, उजुरीपछि फेरियो केन्द्रीय सदस्यको नतिजा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा गडबडी भएको स्पष्ट भएको छ । यसको पुष्टि पार्टीले नतिजामा भएको त्रुटि सच्याएबाट भएको छ।

पार्टी निर्वाचन आयोगले असार १२ गते बसेको बैठकबाट यसअघि घोषणा गरिएको नतिजा संशोधन गर्दै जनजाति क्लस्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक (भूगोल)तर्फ गण्डकी प्रदेशबाट पूजा बाँस्तोलालाई निर्वाचित घोषणा गरेको हो।

यसअघि जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ र प्रादेशिक (भूगोल)तर्फ गण्डकी प्रदेशबाट सोम शर्मा निर्वाचित भएको घोषणा गरिएको थियो। तर आफूभन्दा कम मत ल्याएका उम्मेदवारलाई विजयी घोषणा गरिएको भन्दै मगर र बाँस्तोलाले निर्वाचन आयोगमा उजुरी दिएका थिए।

उजुरीमाथि छानबिन गर्दा मत परिणाम, उम्मेदवारी दर्ताका क्रममा पेश गरिएका कागजात तथा अन्य प्रमाणका आधारमा नतिजा फरक परेको आयोगले जनाएको छ।

निर्वाचन आयोगको निर्णयमा भनिएको छ, “मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेश गरिएका कागजात र प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापा मगर निर्वाचित भएको देखिएकाले निजलाई निर्वाचित घोषणा गर्ने निर्णय गरियो।”

त्यस्तै, गण्डकी प्रदेशको प्रादेशिक (भूगोल)तर्फ पूजा बाँस्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मा निर्वाचित भएको देखिएपछि आवश्यक अध्ययन गरी बाँस्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ।

यससँगै यसअघि निर्वाचित घोषित कृष्णमान श्रेष्ठ र सोम शर्माको पद गुमेको छ। गत शुक्रबार सम्पन्न रास्वपाको प्रथम महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि ३८४ जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचनपछि सबै उम्मेदवारको मत सार्वजनिक गरिए पनि विजयी घोषणा गर्दा त्रुटि भएको भन्दै केही प्रतिनिधि र उम्मेदवारले असन्तुष्टि जनाएका थिए।

महाधिवेशनका क्रममा निर्वाचन प्रक्रिया, क्लस्टर व्यवस्थापन, मतगणनाको पारदर्शिता तथा संगठनात्मक संरचनालगायत विषयमा समेत प्रतिनिधिहरूबीच बहस भएको थियो। नतिजा सार्वजनिक गर्ने क्रममा देखिएको त्रुटिले महाधिवेशन व्यवस्थापन र निर्वाचन प्रणालीमाथि प्रश्नसमेत उठाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.