जापान

चार दशकयताकै कमजोर विन्दुमा येन, जापान सरकारमाथि हस्तक्षेपको दबाब

जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा थप कमजोर हुँदै चार दशकयताकै न्यून विन्दुमा पुगेको छ। बजारमा लगातार बिक्री दबाब बढेपछि येनले मंगलबार कारोबारका क्रममा प्रतिडलर १६२ येनको मनोवैज्ञानिक सीमा सहजै पार गरेको हो।

सोमबार अमेरिकाको न्यूयोर्क बजारमा येन प्रतिडलर १६१.९७ सम्म झरेको थियो, जुन डिसेम्बर १९८६ यताकै सबैभन्दा कमजोर विनिमय दर हो। त्यसपछि मंगलबार टोकियो बजार खुल्नेबित्तिकै जापानी मुद्रा थप कमजोर बन्दै बिहान करिब ९:५५ बजे प्रतिडलर १६२ येनको स्तर पार गरेको थियो।

मंगलबार कारोबारका क्रममा येन प्रतिडलर १६२.४१ सम्म झरेको थियो। दिनको अन्त्यसम्म भने यो केही सुधार हुँदै १६२.२० को हाराहारीमा कारोबार भयो। यद्यपि बजारमा उतारचढाव जारी रहेकाले येन अझ कमजोर हुने जोखिम कायम रहेको विश्लेषकहरूले बताएका छन्।

येन कमजोर बन्दा जापानी सेयर बजार भने उत्साहित देखिएको छ। प्रमुख सूचक निक्केई–२२५ मंगलबार ०.८६ प्रतिशतले बढेर ७० हजार ६२.३२ अंकमा पुगेको छ।

गत एक सातादेखि येन चार दशकयताकै न्यून स्तरको आसपासमा रहँदै आएको छ। धेरै लगानीकर्ता तथा विश्लेषकहरूले जापान सरकारले प्रतिडलर १६० येनको स्तरलाई ‘रक्षा रेखा’ का रूपमा लिएको अनुमान गरेका छन्। तर हालसम्म सरकारले प्रत्यक्ष हस्तक्षेप नगरी मौखिक चेतावनीमै सीमित रहेको छ।

जापानकी अर्थमन्त्री सात्सुकी कातायामाले मंगलबार पत्रकार सम्मेलनमा आवश्यक परे जुनसुकै बेला उपयुक्त कदम चालिने बताइन्। उनले हालै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग भएको टेलिफोन संवादमा आवश्यक परे ‘निर्णायक कदम’ चाल्ने विषयमा सहमति भएको जानकारी दिइन्।

यद्यपि बजार सहभागीहरू जापानी सरकारको हस्तक्षेपले दीर्घकालीन प्रभाव पार्नेमा विश्वस्त देखिएका छैनन्। नोमुरा रिसर्च इन्स्टिच्युटका कार्यकारी अर्थशास्त्री ताकाहिदे किउचीका अनुसार सरकारी हस्तक्षेपको प्रभाव अस्थायी मात्र हुन्छ। “यो नीति मूलतः केही समयका लागि मात्रै राहत दिने उपाय हो,” उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

विश्लेषकहरूका अनुसार जापान र अमेरिकाबीचको ब्याजदर अन्तर फराकिलो रहँदा येनमाथिको दबाब अझ बढेको छ। हाल जापानको प्रमुख नीतिगत ब्याजदर १ प्रतिशत छ भने अमेरिकाको संघीय कोष दर ३.५० देखि ३.७५ प्रतिशतको दायरामा छ। अमेरिकी ब्याजदर थप बढ्न सक्ने अपेक्षाले लगानीकर्ताहरू डलरतर्फ आकर्षित भइरहेका छन्।

अर्थशास्त्रीहरूले जापानको केन्द्रीय बैंकले हरेक छ महिनाजति अन्तरमा मात्रै ब्याजदर वृद्धि गर्न सक्ने अनुमान गरेका छन्। यदि येनको अवमूल्यन तीव्र गतिमा जारी रहे प्रतिडलर १७० येनसम्म पुग्न सक्ने चेतावनीसमेत दिइएको छ।

प्रधानमन्त्री सानाए ताकाइची सरकारले उपभोग कर घटाउने तयारी गरेपछि जापानको वित्तीय अवस्था थप दबाबमा पर्ने चिन्ता पनि बढेको छ।

सरकारले खाद्य तथा पेय पदार्थमा लाग्दै आएको ८ प्रतिशत उपभोग करलाई दुई वर्षका लागि घटाएर १ प्रतिशतमा झार्ने प्रस्तावमाथि छलफल गरिरहेको छ। यस्तो निर्णयले वार्षिक करिब ४.४ ट्रिलियन येन राजस्व गुम्ने अनुमान गरिएको छ।

यसअघि पनि येन कमजोर भएपछि जापान सरकारले बजारमा हस्तक्षेप गर्दै आएको छ। सन् २०२४ जुलाई ३ मा येन प्रतिडलर १६१.९६ मा झरेपछि सरकारले करिब ३४ अर्ब अमेरिकी डलर खर्च गरेर मुद्रा बजारमा हस्तक्षेप गरेको थियो, जसपछि विनिमय दर प्रतिडलर १४० येनसम्म सुधारिएको थियो।

त्यसैगरी, सन् २०२५ अप्रिलमा येन प्रतिडलर १६०.७२ मा पुगेपछि जापान सरकारले पुनः करिब ७३ अर्ब अमेरिकी डलर खर्च गरेर हस्तक्षेप गरेको थियो। त्यसपछि केही समयका लागि येन प्रतिडलर १५५ सम्म मजबुत बने पनि हाल पुनः कमजोर बन्दै गएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.