उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीहरूलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताउनुभएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा, लसुन, बेसार र प्याजजस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री बानियाँले भन्नुभयो, “अहिलेको बजेटमा हामीले एक पालिका, एक रैथाने उत्पादन, एक सङ्कलन केन्द्र नीति अघि सारेका छौँ । सोहीअनुरूप प्रशोधन, ब्रान्डिङ र बजारीकरण गर्ने पालिकालाई प्रदेश सरकारले विशेष अनुदान दिँदैछ ।”
महिला दिदीबहिनीहरू आफैँ अग्रसर भएर बिचौलियाको प्रभावविहीन सिधैँ किसानबाट उत्पादित ६५ टन बेसार सङ्कलन, प्रशोधन र ब्रान्डिङ गरी बजारमा ल्याएकामा खुसी व्यक्त गर्दै उहाँले संस्थाको प्रगतिको उच्च सम्मान गर्नुभयो ।
बजेट पारित भएलगत्तै साउनभित्रै प्रक्रिया अगाडि बढाई यस्ता उद्यमशील महिलाहरूद्वारा सञ्चालित उद्योगलाई थप अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
केही सहकारीहरूमा सर्वसाधारणको रकम दुरुपयोग हुँदा समाजमा त्रास र अविश्वास बढेको तर्फ इङ्गित गर्दै उहाँले सफल सामाजिक उद्यमी महिला सहकारीजस्ता उत्पादन र विशुद्ध कर्ममा जोडिएका संस्थाहरूले नै सहकारी क्षेत्रको गरिमा जोगाउने दाबी गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सहकारी मन्त्री बिनु रायमाझीले किसान, सहकारी, विकास साझेदार र निजी क्षेत्रको संयुक्त उत्पादन ‘चन्द्र सूर्य’ बेसार एक उत्कृष्ट उदाहरण भएको बताउनुभयो ।
स्थानीय उत्पादनको मूल्य एवं बजार पहुँचमा लगानी गरेर कृषि समुदायलाई दीर्घकालीन फाइदा पुर्याउने उद्यमहरू निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हेफर नेपालका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मीले विशुद्ध किसानले बनाएको ब्रान्ड ‘चन्द्र सूर्य’ बेसारले यहाँका महिला किसान र सहकारी सदस्यहरूको नेतृत्व तथा उद्यमशीलताको भावनालाई उजागर गरेको बताउनुभयो ।
उहाँले यहाँको अर्गानिक उत्पादनका कारण उपभोक्ताले शुद्ध बेसार सेवन गर्न पाउने बताउँदै किसानले आफैँ खेती, सङ्कलन, उत्पादन, ब्रान्डिङ र बजारीकरण गर्न पाउनु सुखद क्षण भएको उल्लेख गर्नुभयो । हेफर लामो समयदेखि साना किसानसँग मिलेर समावेशी, उत्थानशील र दिगो खाद्य प्रणाली निर्माणका लागि काम गर्दै आएको बताउँदै उहाँले नेपालका चार लाखभन्दा बढी परिवारसँग सहकार्य गर्दै कृषिलाई दिगो आम्दानी, खाद्य सुरक्षा र समृद्धिको आधार बनाउन सहयोग गरिरहेको जानकारी दिनुभयो ।
सानो प्रयासबाट सुरु भएको उद्योग आज ब्रान्ड बन्दै
भरतपुरको भतेरीमा स्थापना भएको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था महिलाकै नेतृत्वमा सञ्चालित सहकारी हो । संस्थाले आफ्ना ३०० जना सदस्य र बाह्य चितवनकै र तनुहँका पाँच सहकारीका ७०० जना गरी कुल एक हजार किसानहरूमार्फत बेसार सङ्कलन तथा ब्रान्डिङ गरी बिक्री गर्दै आएको छ ।
संस्थाकी उपाध्यक्ष राधिका भट्टराईले सहकारी २१० जना सदस्यबाट सुरु भई हाल ९०५ जना सदस्य पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा १०० केजी बेसार उत्पादन गरी सुरु गरिएको उद्योगबाट हाल ६५ टन सम्म उत्पादन गर्न सहकारी सफल भएको छ ।
संस्थाकी अध्यक्ष मधुमाया गुरुङले विगतका सङ्घर्षका दिनहरू स्मरण गर्दै भन्नुभयो, “पहिला हातले काटेर, सुकाएर नारायणगढ लगेर पाउडर बनाई सामान्य प्याकेज गरिन्थ्यो । पहिला आफैँ पसल तथा होटलमा गएर बिक्री गर्नुपथ्र्यो ।
आज सबैको मिहिनेतले ‘चन्द्र सूर्य’ ब्रान्ड बनेको छ, आफ्नो ब्रान्ड बजारमा देख्दा खुसी मिल्छ । अब बजार खोज्न भौँतारिनु पर्दैन ।” उहाँका अनुसार संस्थाको उद्योगमा अहिले आधुनिक मेसिनबाट प्रशोधन, उत्पादन, प्याकेजिङ र ब्रान्डिङ गरी बजार पठाउने गरिएको छ ।
कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरलगायत स्थानीय सरकारका प्रतिनिधि एवं संस्थाका सदस्यको सहभागिता थियो ।




प्रतिक्रिया राख्नुहोस्