युरोपको भीषण तापलहर : पेरिसका शवगृह भरिए, मृतक राख्ने ठाउँ अभाव
युरोपभर फैलिएको अभूतपूर्व तापलहरका कारण फ्रान्सको राजधानी पेरिसका शवगृहहरू भरिन थालेपछि थप शव राख्ने ठाउँको अभाव भएको छ।
अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या बढेसँगै अन्त्येष्टि सेवा प्रदायक र शवगृह सञ्चालकहरूलाई दैनिक सयौं फोन आउन थालेका छन्।
पेरिसस्थित एक शवगृहका सञ्चालक जौहाएर हेर्टेलीका अनुसार उनको शवगृहको शीतकक्षका सबै ३२ स्थान भरिसकेका छन्। अहिले थप शव राख्न सकिन्छ कि भनेर आउने अधिकांश फोनमा उनले “स्थान छैन” भन्नुपर्ने अवस्था आएको छ।
जुन महिनाको मध्यदेखि फ्रान्सबाट सुरु भएको ऐतिहासिक तापलहर यस साता युरोपका अन्य मुलुकतर्फ सरे पनि यसको मानवीय क्षति भने गम्भीर देखिएको छ। विशेषगरी घरमै एक्लै बस्ने ज्येष्ठ नागरिकहरू बढी प्रभावित भएका छन्।
मृत्युको यकिन तथ्यांक आउन अझै समय लाग्ने
तापलहरका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ज्यान गुमाएकाहरूको यकिन तथ्यांक सार्वजनिक हुन अझै केही साता वा महिना लाग्न सक्ने अधिकारीहरूले बताएका छन्। तर प्रारम्भिक तथ्यांकले नै मृत्युको संख्या निकै उच्च रहेको देखाएको छ।
फ्रान्सको राष्ट्रिय सार्वजनिक स्वास्थ्य निकायका अनुसार गत साता तापलहर उत्कर्षमा पुगेका तीन दिनमा कम्तीमा एक हजार अतिरिक्त मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। ती दिन फ्रान्सका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो भने रातिको तापक्रमले समेत नयाँ कीर्तिमान कायम गरेको थियो।
निकायका अनुसार गत बुधबार, जुन फ्रान्सको इतिहासकै सबैभन्दा तातो दिन बनेको थियो, एकै दिन १ हजार २ सयभन्दा बढी मृत्यु दर्ता भएका थिए। तापलहर सुरु हुनुअघि अप्रिल र मे महिनामा दैनिक मृत्यु दर ९०० देखि १ हजारको हाराहारीमा थियो।
त्यसैगरी बिहीबार र शुक्रबार दुवै दिन १ हजार ४ सयभन्दा बढी मृत्यु दर्ता भएको जनाइएको छ। घर तथा वृद्धाश्रममा मृत्यु भएका धेरै व्यक्तिको विवरण अझै विद्युतीय प्रणालीमा दर्ता हुन बाँकी रहेकाले वास्तविक संख्या अझै बढ्ने स्वास्थ्य निकायले जनाएको छ।
८५ प्रतिशत मृतक ६५ वर्षमाथिका
प्रारम्भिक अध्ययनअनुसार ती तीन दिनमा दर्ता भएका मृतकमध्ये ८५ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका उमेर समूहका थिए। विशेषगरी पेरिस क्षेत्रमा घरमै हुने मृत्यु झन्डै ४० प्रतिशतले बढेको छ।
शव व्यवस्थापन क्षेत्रमा कार्यरत व्यवसायीहरूका अनुसार पेरिसका अधिकांश शवगृह चाँडै भरिएका छन्। पेरिस महानगरपालिकाले नगरका शवगृहमा अस्थायी रूपमा २०–२० शव राख्न मिल्ने दुई अतिरिक्त शीतकक्ष स्थापना गरेको छ भने सहरका अस्पतालहरूले थप ५० स्थान उपलब्ध गराएका छन्।
तर पनि अवस्था सामान्य नभएको शवगृह सञ्चालकहरूको भनाइ छ। केही शवलाई पेरिसबाट करिब ८० किलोमिटर टाढाको चार्ट्रेससहित राजधानी आसपासका अन्य क्षेत्रसम्म पठाउनुपर्ने अवस्था आएको बताइएको छ।
हेर्टेलीले शव राख्न थप स्थान बनाउन शवगृह बाहिर अस्थायी रेफ्रिजेरेटेड कन्टेनर राख्न अनुमति मागिएको भए पनि अझै स्वीकृति नपाएको बताए।
“परिवारहरू पीडामा छन्। शवगृह भरिएकाले हामीसँग उनीहरूलाई दिन कुनै समाधान छैन। हामी उनीहरूको पीडा बुझ्छौं, तर सहयोग गर्न सक्ने अवस्था छैन,” उनले भने।
२००३ को भन्दा पनि खराब अवस्था हुने चिन्ता
फ्रान्समा सन् २००३ मा आएको भीषण गर्मीका कारण करिब १५ हजार जनाको मृत्यु भएको थियो। त्यसपछि ज्येष्ठ नागरिकको हेरचाहलाई लिएर राष्ट्रियस्तरमै व्यापक बहस भएको थियो। गत वर्षको असाधारण गर्मीका कारण पनि ५ हजार ७ सयभन्दा बढी मृत्यु भएको सरकारी तथ्यांक छ।
पेरिसकी अन्त्येष्टि सेवा प्रदायक भेरोनिक बर्ट्रान्डले यसपटक पनि अधिकांश मृतक घरमा एक्लै बस्ने व्यक्तिहरू रहेको बताइन्।
“हामीले अहिले सम्हालिरहेका अधिकांश मृतक घरमा एक्लै बसिरहेका मानिस हुन्। उनीहरू फेला परेको अवस्थाले यी मृत्यु अत्यधिक गर्मीकै कारण भएको स्पष्ट देखाउँछ,” उनले भनिन्।
उनले समाजमा पारस्परिक सहयोग र छिमेकीप्रतिको चासो कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिन्।
“सन् २००३ पछि मानिसहरूले एक्लै बस्ने छिमेकीको ख्याल गर्ने, उनीहरूले पानी पिइरहेका छन् कि छैनन् भनेर हेर्ने संस्कार विकास भएको थियो। तर समयसँगै हामीले त्यो पाठ बिर्सियौं जस्तो देखिन्छ। यस्तो अवस्था फेरि आउन सक्छ र अझ भयावह हुन सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ,” उनले भनिन्।
पिबीएस न्यूज/एएफपी




प्रतिक्रिया राख्नुहोस्