जापान

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प, दक्षिणपश्चिम क्षेत्रमा भीषण वर्षाले जनजीवन प्रभावित

जापानको दुई क्षेत्रमा शक्तिशाली भूकम्प र भीषण वर्षाले जनजीवन प्रभावित बनाएको छ । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जना घाइते भएका छन् भने दक्षिणपश्चिम क्षेत्रमा भीषण वर्षाले जनजीवन प्रभावित भएको छ ।

भूकम्पका कारण केही क्षेत्रमा रेल सेवा अस्थायी रूपमा प्रभावित भएको भए पनि हालसम्म ठूलो जनधनको क्षतिको विवरण प्राप्त भएको छैन। जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्प इवाटे प्रान्तको प्रशान्त तट नजिक ४४ किलोमिटर गहिराइमा गएको हो।

भूकम्पको धक्का राजधानी टोकियोसम्म महसुस गरिएको थियो। यद्यपि, अधिकारीहरूले सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेका छन्। साथै, प्रभावित क्षेत्रमा रहेका आणविक ऊर्जा केन्द्रहरूमा पनि कुनै असामान्यता नदेखिएको जनाइएको छ।

हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार घाइते चार जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। जापानी अधिकारीहरूले आगामी एक सातासम्म परकम्प (आफ्टरसक) आउन सक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यसबीच, जापानको दक्षिणपश्चिमी क्षेत्रमा लगातारको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ। मौसम अधिकारीहरूले क्युसु क्षेत्रका केही स्थानमा पहिरोको उच्च जोखिम रहेको भन्दै विशेष सतर्कता जारी गरेका छन्।

अधिकारीहरूका अनुसार न्यूनचापीय प्रणालीतर्फ न्यानो र आर्द्र हावा प्रवाह हुँदा वर्षा गराउने बादलहरू तीव्र रूपमा विकास भइरहेका छन्। नागासाकी प्रान्तस्थित फुकुए विमानस्थलमा पछिल्लो ७२ घण्टामा ५४० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ, जसले नयाँ कीर्तिमान कायम गरेको छ।

अविरल वर्षापछि सागा र नागासाकी प्रान्तका केही क्षेत्रमा पहिरोको जोखिमलाई मध्यनजर गर्दै चौथो तहको आकस्मिक चेतावनी जारी गरिएको छ।

नागासाकीको सासेबो सहरमा एक आवासीय घर नजिकैको पहाड खस्दा मुख्य भवनमा क्षति नपुगे पनि नजिकै रहेको टहरा र पार्किङमा राखिएका सवारीसाधनमा क्षति पुगेको बताइएको छ। ओइटा प्रान्तको युफु सहरमा पनि नदी किनारको एक भाग भत्किएको छ।

मौसमविद्हरूले आगामी केही दिन कान्तो–कोशिनदेखि क्युसुसम्मका क्षेत्रमा भारी वर्षा जारी रहने चेतावनी दिएका छन्। उत्तरी क्युसु, तोकाइ र शिकोकु क्षेत्रमा शुक्रबार दिउँसोसम्म २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।

अधिकारीहरूले नदीमा पानीको सतह बढ्न सक्ने, चट्याङ, हुरी, बाढी तथा होचा भूभाग डुबानमा पर्न सक्ने जोखिमप्रति पनि सर्वसाधारणलाई सचेत गराएका छन्।

यसैबीच, जापानका अन्य क्षेत्र पनि खराब मौसमको प्रभावका लागि तयारीमा जुटेका छन्। शक्तिशाली उष्णकटिबन्धीय आँधी ‘मेखाला’ शुक्रबारसम्म ओकिनावा प्रान्त नजिक पुग्ने अनुमान गरिएको छ।

आँधीका कारण प्रतिघण्टा १०८ किलोमिटरसम्मको हावा चल्न सक्ने तथा १४४ किलोमिटरसम्मको झोक्का लाग्न सक्ने भएकाले अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

आँधीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै जापानी वायुसेवा कम्पनीहरूले बिहीबार करिब १०० आन्तरिक उडान रद्द गरेका छन्।

तीमध्ये अधिकांश उडान ओकिनावाका इसिगाकी र मियाको टापुसँग सम्बन्धित थिए। शुक्रबारका लागि ओकिनावास्थित नाहा विमानस्थलबाट सञ्चालन हुने थप १४० उडान पनि रद्द गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.