विश्व समाचार

संयुक्त राष्ट्रसंघ मुख्यालयअगाडि तिब्बती शरणार्थीद्वारा आत्मदाह, उपचारका क्रममा मृत्यु

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयअगाडि एक तिब्बती शरणार्थीले आत्मदाह गरेका छन्। गम्भीर रूपमा जलेका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

अमेरिकी समाचार संस्था एपीका अनुसार स्थानीय समयअनुसार बिहीबार साँझ करिब ६:३० बजे घटनाबारे ९११ मा सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यहाँ ५२ वर्षीय एक पुरुष शरीरभरि गम्भीर रूपमा जलेको अवस्थामा फेला परेका थिए।

उनलाई तत्काल अस्पताल लगिएको भए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। लोब्गा राङ्जेन नामका ती व्यक्तिले तिब्बती झण्डा बोकेर तिब्बतको स्वतन्त्रता र एकताका पक्षमा अपिल गरेपछि आत्मदाह गरेको निर्वासित तिब्बती सञ्चारमाध्यम र अधिकारकर्मीहरूले बताएका छन्।

अधिकारकर्मीहरूका अनुसार राङ्जेन चीनद्वारा तिब्बतमा लागू गरिएका नीतिहरूको विरोध गर्दै आएका थिए। हालै लागू भएको चीनको ‘जातीय एकता’ सम्बन्धी कानुनले तिब्बती तथा अन्य अल्पसंख्यक समुदायमाथिको नियन्त्रण थप कडा बनाउने भन्दै अमेरिका, युरोपेली सङ्घ तथा विभिन्न मानवअधिकार संस्थाले चिन्ता व्यक्त गरेका छन्।

समाचार माध्यमहरुका अनुसार सन् २००९ यता चीनको तिब्बत नीतिको विरोधमा १५० भन्दा बढी तिब्बतीहरूले आत्मदाह गरिसकेका छन्। तीमध्ये केही घटना निर्वासनमा रहेका तिब्बती समुदायभित्र पनि भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले आत्मदाह गर्नुअघि तिब्बती झण्डा प्रदर्शन गरेका थिए। यस घटनालाई तिब्बतसँग सम्बन्धित राजनीतिक विरोधको रूपमा हेरिए पनि अमेरिकी अधिकारीहरूले त्यसबारे औपचारिक पुष्टि गरेका छैनन्।

तस्वीर स्रोत : रोयटर्स

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.