राजनीति

रामकुमारीको प्रश्न- बजेटमा पूँजीगतभन्दा साधारण खर्च किन धेरै बढी ?

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल भएको छ ।

छलफलमा भागा लिंदै एमाले सांसद रामकुमारी झाक्रीले विनियोजन विधेयमा सरकारको रोडम्याप नदेखिएको भन्दै बजेटमाा पूँजीगत खर्चभन्दा साधारण खर्च अत्यधिक बढी रहेको टिप्पणी गर्नुभयो ।

उहाँले विगतमा विभिन्न समयमा भएका आन्दोलन र व्यवस्था परिवर्तनपछि विशिष्ट परिस्थितिमा बनेका सरकारले नयाँ परिवर्तनलाई आत्मसाथ गर्ने गरी बजेट ल्याएको भए पनि विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले जनताको भावना र चाहनाबमोजिम विशिष्ट कार्यक्रम र योजना ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाले सामान्य घरायसी काममा प्रयोग गरिने विद्युत्मा सरकारले लगाएको कर उचित नभएको भनी टिप्पणी गर्नुभयो ।

उहाँले बुढीगण्डकी जलविद्युत् जस्ता ठूला आयोजनाको काम अघि बढाउन र विद्युत् प्रसारण सेवालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

यसै गरी सांसद विष्णुकुमारी सापकोटाले बजेटमा सरकारले कृषिलाई अपेक्षाकृत प्राथमिकता नदिएको टिप्पणी गर्दै सरकारले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले स्थानीय रूपमा उपलब्ध हुने प्राङ्गारिक मलको विकासमा प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले बजेटमा रहेको पर्यटकीय राजमार्ग निर्माण कार्यक्रमसँगै नयाँ योजना ल्याएर मुलुकमा भारत र चीनबाट थप पर्यटन भित्र्याउन सकिनेमा जोड दिनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण मानव जीवनमा परेको असरलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायसम्बन्धी योजना, सुक्खा क्षेत्रमा सिँचाइ विस्तारलगायत कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

सांसद नरबहादुर विष्टले विनियोजन विधेयकमाथि जति छलफल गरे पनि बजेटमा कुनै पनि परिवर्तन नहुने भन्दै छलफलको कुनै अर्थ नरहेको बताउनुभयो ।

उहाँले कर्णालीमा स्थानीय बालीको उत्पादनलाई प्रोत्साहन गर्न तथा सिँचाइका कुनै पनि योजना बजेटमा नभएको गुनासो गर्दै आत्मनिर्भर अर्थतन्त्र नभई मुलुकको विकास नहुने धारणा व्यक्त गर्नुभयो ।

छलफलमा भाग लिने कतिपय सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताका आधारमा गुर्नपर्ने र कतै बढी कतै शून्य गर्न नहुने सुझाव दिए ।

छलफलमा सांसद चन्द्रबहादुर केसीले सरकारले १०० दिनको यात्रा गरिरहेको भन्दै राज्य सबै नेपालीको साझा भएको हुनाले विकासमा पनि आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद रञ्जित कर्णले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद रेणु चन्दले रगतसँग साटेर ल्याएको सङ्घीयता भएकाले त्यसको प्रभावकारी कार्यान्वयन गरी सुदूरपश्चिमको विकासमा विशेष ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद गोमादेवी तिमिल्सिनाले नेपालको विकास र समृद्धिका लागि उद्योगधन्दा सञ्चालन गर्नुपर्नेप्रति सरकारको ध्यानाकर्षण गराउँदै पहिला सञ्चालन गरेका उद्योगहरू बन्द गर्दै जाने तर नखोल्ने गर्नाले मुलुकको विकास सम्भव नभएको धारणा राख्नुभयो ।

सांसद पदमबहादुर परियारले भूमीहीनको व्यवस्थापन गर्ने कुरा आए पनि १२ लाख सुुकुम्बासीको एक वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सावित्री मल्लले मन्त्रालयगत वार्षिक बजेटमा पेट्रोलियम उत्पादन, सञ्चालन गर्ने भनिए पनि दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.