निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ । दाङको घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो । घरको कामले फुर्सद नभएर उहाँ अस्पताल जानुभएन ।
घर नजिकै घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा जानुभयो । त्यहाँ पुगेपछि उहाँको पाठेघरमा घाउ भएको पत्ता लाग्यो । उपचारमा गएका स्वास्थ्यकर्मीले औषधिले निको हुन्छ नआत्तिनुहोला भनी सम्झाइबुझाई गरी औषधि दिएर पठाए । घरछेउमा स्वास्थ्य सेवा पाएपछि खुसी लागेको पोखरेलले बताउनुभयो ।
घोराही उपमहानगरपालिका–१३ कलमघारीका ६३ वर्षीया महिलालाई पिसाब नरोकिने, ढाड दुख्ने, जीउ दुख्ने र खान मन नलाग्ने समस्या थियो । उपचारका लागि जाने फुर्सद नभएकाले अस्पताल नगएको उहाँले बताउनुभयो ।
घरछेउमा आएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएको र स्वास्थ्यकर्मीले औषधि दिनुभएको छ, निको हुने आशा गरेको छु”, उहाँले भन्नुभयो ।
घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाका अनुसार पछिल्लो चार वर्षमा घोराहीमा पाठेघरको मुखको क्यान्सर रोगका कारण ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । समयमै स्क्रिनिङ गराउँदा सयौँले ज्यान जोगाएका छन् ।
बितेको चार वर्षको तथ्याङ्कले घोराही उपमहानगरपालिकामा ४८८ जनामा पाठेघरको मुखको क्यान्सरको शङ्कास्पद लक्षण फेलापरेको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाले १९ वटै वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट ४८८ महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेलापरेको हो ।
महिलाहरूको स्वास्थ्य संरक्षणका लागि उपमहानगरले आर्थिक वर्ष २०७९/८० देखि पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ ।
चार आर्थिक वर्षमा घोराहीले १९ वटै वडाका विभिन्न क्षेत्रमा पुगेर १६ हजार ७४१ महिलाको पाठेघर परीक्षण गर्यो । त्यही परीक्षणमा ४८८ महिलाको पाठेघरमा क्यान्सरको शङ्कास्पद लक्षण फेलापर्यो । तथ्याङ्कअनुसार आव २०७९/८० मा कुल पाँच हजार ८०९ महिलाको पाठेघर परीक्षण गरियो । तीमध्ये ११६ महिलामा क्यान्सर पोजेटिभ देखियो ।
आव २०८०/८१ मा तीन हजार ६६५ महिलाको पाठेघर जाँच गर्यो । जसमा ८८ जनाको पाठेघरमा पोजेटिभ देखियो । यस्तै आव २०८१/८२ मा पाँच हजार २६० जनामा गरिएको परीक्षणबाट १६४ जनामा शङ्कास्पद लक्षण भेटिएको थियो भने चालु आव २०८२/८३ मा दुई हजार सात जनाको पाठेघर जाँच गर्दा १२० जनामा पोजेटिभ देखिएको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो ।
समयमै समस्या पत्ता लाग्दा खर्च पनि कम हुने र निको पनि पार्न सहज हुने कुरालाई हामीले सबै महिलाहरूलाई सजग गराउँदै जाँदा उपचारका लागि आउनेको सङ्ख्या बढेको शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।
घोराहीले अहिले गाउँघरमै पुगेर निःशुल्क शिविर चलाउने, संस्थागत परिवार नियोजन क्लिनिक र लक्ष्मीपुर स्वास्थ्यचौकीमा पाठेघरको मुखको क्यान्सर जाँच गर्ने व्यवस्था मिलाएको छ । हरेक बिहीबार संस्थागत परिवार नियोजन क्लिनिक र हरेक महिनाको पहिलो सोमबार लक्ष्मीपुर स्वास्थ्यचौकीबाट पाठेघरको मुखको क्यान्सरको जाँच भइरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । गम्भीर समस्या देखिए सम्बन्धित अस्पतालहरूमा रिफर गर्ने गरिएको उहाँले बताउनुभयो ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले दैनिकजसो आफ्नो टेबुलमा क्यान्सरपीडित महिला आउन थालेपछि रोग लागेर उपचार गर्नुभन्दा रोग समयमै पत्ता लगाउने अभियान चलाएको बताउनुभयो ।
“आव २०७९/८० देखि पाठेघरको मुखको क्यान्सर जाँच अभियान थाल्यौँ”, उपप्रमुख डिसीले भन्नुभयो, “केहीलाई त बचाउन सकिएन, तर समयमै जाँच भएर उपचार गर्दा धेरैले नयाँ जीवन पाउनुभएको छ । त्यसैले पाठेघरको मुखको क्यान्सर जाँचलाई अभियानकै रूपमा आगामी दिनमा पनि सञ्चालन गछौँ ।”




प्रतिक्रिया राख्नुहोस्