जन सरोकार

घट्दै सर्पदंशको उपचार लिने बिरामी

विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन् । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला चार वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको हो ।

साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

विसं २०७१ साउन ३१ गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष २०७९/८० यता उपचार लिनेको सङ्ख्या निकै घटेको छ । त्यसअघि वर्षमा चार हजार बढीले उपचार लिने गरेकामा केन्द्रमा २०७९/८० यता यो सङ्ख्या एक हजारमुनि झरेको छ ।

केन्द्रमा आव २०७९/८० मा ८७८, आव २०८०/८१ मा ८८४ र आव २०८१/८२ मा ७०२ जनाले उपचार लिएका छन् । चालु आव २०८२/८३ को (असार २० गते)सम्मको अवधिमा ७२२ जनाले उपचार लिएका उपचारमा संलग्न नेपाली सेनाको प्राविधिक टोलीका प्रमुख भोला चौधरीले जानकारी दिनुभयो ।

केन्द्रमा स्थापनायताका वर्षमा सबैभन्दा बढी आव २०७७/७८ मा चार हजार १९१ जनाले उपचार लिएका छन् । त्यसैगरी, आव २०७६/७७ मा तीन हजार ९४७, आव २०७८/७९ मा तीन हजार ९३२, आव २०७५/७६ मा तीन हजार ६४१, आव २०७४/७५ मा तीन हजार ५४२, आव २०७३/७४ मा तीन हजार ३९४, आव २०७२/७३ मा तीन हजार ३१० र आव २०७१/७२ मा तीन हजार १२८ जनाले उपचार सेवा लिएका छन् । स्थापनाकालदेखि हालसम्म जम्मा ३२ हजार २७१ जनाले उपचार लिएका केन्द्रको अभिलेखमा उल्लेख छ ।

पछिल्ला चार वर्षमा आसपासका धेरै ठाउँमा सर्पदंश उपचार सेवा सञ्चालनमा आउनु र सहरीकरण बढ्दै जाँदा सर्पले ठाउँ छोड्दै गएपछि घटना कम हुनसँगै उपचार लिनेको सङ्ख्या घट्दै गएको प्राविधिक टोलीका प्रमुख चौधरीको भनाइ छ ।

एक दशकअघिसम्म विषालु सर्पको त्रास रहेको बर्दिबास नगर क्षेत्रमा सर्पदंशका घटना बढेपछि सामुदायिक प्रयत्नबाट सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रमा स्थापनाकालदेखि नै नेपाली सेनाका दक्ष प्राविधिक टोलीले उपचार सेवा दिँदै आएका केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउनुहुन्छ । केन्द्रले स्थापनाकालयता हालसम्म उपचार लिन आएमध्ये ६७ जनालाई मात्र अन्यत्र रेफर गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.