जन सरोकार

कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान

उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ–घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ । आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ–घमी सडकको स्तरोन्नति तथा कालोपत्रका लागि ठेक्का आह्वान गरेको हो ।

सडक स्तरोन्नति तथा कालोपत्रका लागि दुई प्याकेजमा बहुवर्षीय ठेक्का आह्वान गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिइन् । सडकमार्ग अन्तर्गत छुसाङदेखि भेनासम्मको (२०.१) किलोमिटर सडक (पहिलो खण्ड) र भेनादेखि घमीसम्मको (२०.१) किलोमिटर (दोस्रो खण्ड) गरी बहुवर्षीय ठेक्का आह्वान गरिएको हो ।

छुसाङदेखि भेनासम्मको (१४ किलोमिटर) सडकका लागि रु एक अर्बभन्दा बढी र भेनादेखि घमीसम्मको (६ किलोमिटर) सडकका लागि करिब रु एक अर्ब लागत रहने छ ।

आयोजना प्रमुख शर्माले आयोजनाको कात्तिक महिनाभित्र ठेक्का सम्झौता भई तिहार लगत्तै काम सुरु गरिने बताइन् । यसअघि गत वैशाखमा अर्थ मन्त्रालयले कोरला सडकअन्तर्गत (छुसाङ–घमी) सडकका लागि रु तीन अर्ब १५ करोड बजेट स्रोत सुनिश्चित गरेको थियो ।

उत्तरी/दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत कोरला सडक निर्माण कार्य आव २०७३/७४ सालदेखि सुरु भएको थियो । जसमध्ये ११० किलोमिटर ग्राभेल सडकको सात प्याकेजमा निर्माण सुरु गरिएकामा आव २०७६/७७ सालमा ग्राभेल सडक सम्पन्न भई आयोजनालाई हस्तान्तरण भएको थियो ।

गत वर्ष (कागबेनी–छुसाङ) नौ दशमलव ८ किलोमिटर सडकको सडक स्तरोन्नति तथा कालोपत्र विस्तार गर्न रु २८ करोड ८७ लाख बजेट विनियोजना गरिएको थियो । हाल निर्माणाधीन कागबेनी–छुसाङ सडक कालोपत्र सडक स्तरोन्नतिको २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले उल्लेख गरेको छ ।

आयोजनाअन्तर्गत मुस्ताङको जोमसोमदेखि कागबेनीसम्मको सडक स्तरोन्नति निर्माणाधीन अवस्थामा छ । साल बसाली ठेक्का सम्झौताअन्तर्गत रु सात करोड लागतमा (कालीमाता–थापाकाजी–रसुवा) जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । साविक कालोपत्र सडकलाई दीर्घकालीन हुनेगरी सडक प्रोटेक्सन, ड्रेन निर्माण र पल्म कङ्क्रिट वाललगायत संरचना निर्माण गरिने गरी निर्माणको काम अघि बढाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.