राजनीति

विकासको अधिकारलाई विश्व सहकार्यको केन्द्रमा राख्न नेपालको आग्रह

नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ‘राइट टु डेभलपमेन्ट एट ४०ः क्याटालाइजिङ ग्लोबल पार्टनरसिप्स फर इन्क्लुसिभ एन्ड सस्टेनेबल डेभलपमेन्ट’ विषयमा आज आयोजित कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको हो ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार उहाँले दिगो विकास केवल नीतिगत उद्देश्य मात्र नभई आधारभूत मानवअधिकार भएको बताउनुभयो ।

राजदूत थापाले दिगो विकास लक्ष्य (एसडिजी) अन्तर्गतका लक्ष्यमध्ये हाल केवल १८ प्रतिशत लक्ष्य मात्र सही मार्गमा रहेको र सन् २०३० को कार्यसूची पूरा गर्न अब चार वर्ष मात्र बाँकी रहेकाले विश्व समुदायले आफ्ना प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूलप्रवाहीकरण गरिनुपर्ने, विकास प्रक्रियामा सबैको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने तथा जवाफदेहितालाई थप सुदृढ बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राजदूत थापाले विशेषगरी अतिकम विकसित मुलुक (एलडिसी), भूपरिवेष्टित विकासशील मुलुक (एलएलडिसी) तथा साना द्वीपीय विकासशील राष्ट्र (सिड्स) लाई अनुदान वा सहयोगका प्राप्तकर्ता मात्र नभई अन्तरराष्ट्रिय समुदायले प्रत्याभूत गरेको अधिकारका वास्तविक हकदारका रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको उक्त नियोगले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.