जन सरोकार

झापाको विद्यालयमा शिक्षिका मृत भेटिइन्, श्रीमान् सम्पर्कविहीन

झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छन्।

मृत अवस्थामा ४ जना फेला

मृतक सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ। ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्।

गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए।विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेकाले दुवै शिक्षक विद्यालयमा उपस्थित थिएनन्।

सोमबार विद्यालय सञ्चालन भएपछि पनि उनीहरूसँग सम्पर्क हुन नसकेपछि उनीहरू बस्ने कोठामा पुगेको टोलीले बाहिरबाट ताला लागेको अवस्थामा फेला पारेको थियो।

प्रधानाध्यापक लुइँटेलका अनुसार सोमबार अपराह्न करिब ४ः३० बजे रतन गुप्ताले आफ्नो ह्वाट्सएपमा सन्देश पठाउँदै श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए।

स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन छन्।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार मृत्युको कारण अझै खुलेको छैन।

घटनाबारे आत्महत्या, शंकास्पद मृत्यु वा अन्य सम्भावित कोणबाट अनुसन्धान भइरहेको छ भने सम्पर्कविहीन रहेका श्रीमान् रतन गुप्ताको खोजीसमेत तीव्र पारिएको छ। प्रहरीले पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण खुल्ने जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.