देवानगन्ज घटनाको छानबिन सुरु, तनाव साम्य पार्ने प्रयास जारी
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित समितिले औपचारिक रूपमा अनुसन्धान सुरु गरेको छ।
समितिले घटनासम्बन्धी तथ्य, कागजात र प्रारम्भिक विवरण सङ्कलन गर्नुका साथै सरकारी निकाय, सुरक्षा अधिकारी, सञ्चारकर्मी, नागरिक समाज र अन्य सरोकारवालासँग छलफल थालेको छ।
गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले अब घटनास्थल पुगेर विस्तृत अनुसन्धान गर्ने जनाएको छ।
जिल्लाका संवेदनशील क्षेत्रमा अझै पनि कर्फ्यु र निषेधाज्ञा कायम छ। देवानगन्ज र हरिनगर गाउँपालिकाभर निषेधाज्ञा लागू गरिएको छ भने हरिनगर, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रमा कर्फ्यु जारी छ।
पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेज पुलसम्म तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार देवानगन्ज, हरिनगर, कप्तानगन्ज, भुटाहा, लौकही, भन्टाबारीलगायत सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सुरक्षा परिचालनलाई निरन्तरता दिइएको छ।
मुख्य सडक, बजार र सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती बढाइएको छ भने सम्भावित भिडभाड हुने स्थानमा सुरक्षा उपस्थिति थप सुदृढ बनाइएको छ।
यसबीच दुहबी, पकलीलगायत स्थानमा स्थानीयवासीले सामाजिक सद्भाव कायम गर्न सद्भाव र्याली आयोजना गरेका छन्। यद्यपि केही स्थानमा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन भएका तथा छिटपुट अप्रिय घटना पनि भएको प्रशासनले जनाएको छ। इनरुवाका केही चोकमा समेत कर्फ्युका बीच प्रदर्शन भएको थियो।
आइतबार रातिको घटनामा गोली लागेर देवानगन्ज–३ का ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार धार्मिक जुलुसका क्रममा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि ढुंगामुढा, तोडफोड र आगजनी भएको थियो।
त्यसपछि स्थिति नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको र सोही क्रममा गोली लाग्दा एक जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाको वास्तविक कारण, सुरक्षाकर्मीको भूमिका, गोली चलाउनुपर्ने अवस्था तथा कुनै योजनाबद्ध संलग्नता रहे–नरहेको विषयमा छानबिन समितिले विस्तृत अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया राख्नुहोस्