जन सरोकार

साउनको तेस्रो सोमबारको तयारी, पशुपति क्षेत्रमा गरियो चौथो हप्ताको सफाइ

आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा साउनको तेस्रो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत चार हप्ताअघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । सफाइको चौथो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।

आजको सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उहाँले बताउनुभयो ।

बज्रघर दक्षिणढोका र रुद्रगारेश्वर, वासुकि मन्दिर क्षेत्रमा सफाइ गरिएको छ । मन्दिरको सुरक्षा संयन्त्र कडाइ गर्न लागिएको छ । साउन १८ गते सोमबार बोल बम यात्रा पनि भएकाले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको कोषले जनाएको छ ।

बोल बम यात्रीलाई वासुकितिरबाट प्रवेश गराएर मूल मन्दिरको उत्तरढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको पनि परिषद् सदस्य भण्डारीले बताउनुभयो ।

सफाइमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरू, कोषका कर्मचारी, स्थानीय सङ्घसंस्थालगायत स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको पनि उहाँले सुनाउनुभयो । प्रहरी पहरा गणलगायत सुरक्षा निकायको पनि सफाइमा सहभागिता रहेको थियो ।

यो वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । पहिलो र दोस्रो सोमबार साउन ४ र ११ गते सम्पन्न भइसकेको छ । यसैगरी, साउनको १८ र २५ गते पनि सोमबार परेको छ । बाँकी दुईवटै सोमबार भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरभित्र पूजाआराधना एवं दर्शन गराउने उद्देश्यले यो सफाइ गरिएको हो ।

चान्द्रमासअनुसार भने साउन १८ गतेको सोमबार पहिलो हो । कतिपय भक्तजनले भने चान्द्रमासअनुसार साउन लागेपछि मात्र पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहेको बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.