स्वास्थ्य

क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल

ललितपुरको हरिसिद्धिमा सञ्चालित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक, कान र घाँटीसम्बन्धी क्यान्सरको उपचारमा विश्वस्तरीय सेवा प्रदान गरिरहेको दाबी गरेको छ ।

अस्पतालका कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले टाउको र घाँटीसम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

“पछिल्लो समय धुम्रपान, सुर्तिजन्य पदार्थको सेवन गर्ने २० देखि ४० वर्ष उमेर समूहका युवामा मुखको क्यान्सर बढ्दै गएको छ । मुखमा लामो समयसम्म निको नहुने घाउ, सेतो वा रातो दाग, गाँठागुँठी वा अन्य असामान्य परिवर्तन देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग जाँच गराउनुपर्छ । प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागे उपचार सरल, कम खर्चिलो र सफल हुने सम्भावना अत्यधिक रहन्छ”, कार्यकारी अध्यक्ष डा श्रेष्ठले भन्नुभयो ।

अस्पतालको नाक, कान तथा घाँटी विभागका प्रमुख एवं वरिष्ठ क्यान्सर शल्यचिकित्सक डा प्रभातचन्द्र ठाकुरका अनुसार अधिकांश बिरामी क्यान्सरको तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै उपचारका लागि अस्पताल आउने गर्दछन् ।

उहाँले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा जिब्रो, गिजा, गालाको भित्री भाग, तालु तथा मुखभित्र दुईदेखि तीन सातासम्म निको नहुने घाउ, सेतो वा रातो दाग वा अन्य असामान्य परिवर्तन देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग सम्पर्क गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय नाक, कान, घाँटीको क्यान्सरका बिरामी बढ्दै गएका जानकारी गराउँदै क्यान्सर शल्यचिकित्सक डा ठाकुरले महिलामा थाइराइडको क्यान्सर बढ्दै गएको बताउनुभयो ।

आफ्नो १० वर्षे उपचार सेवामा उल्लेख्य सफलता हासिल गरेको दाबी गर्दै क्यान्सर पत्ता लागेका बिरामीमा एकदेखि दुई दिनमा समस्या पहिचान गरेर उपचार सुरु गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

डा ठाकुरले मुखको क्यान्सरको प्रारम्भिक पहिचान सामान्य शारीरिक परीक्षणबाटै सम्भव हुने भएकाले ‘सेल्फ ओरल एक्जामिनेसन’ लाई राष्ट्रिय जनचेतना कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्राथमिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा दन्त चिकित्सकलाई प्रारम्भिक पहिचानसम्बन्धी तालिम दिँदा ठूलो उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।

अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरेले नेपाल क्यान्सर अस्पतालले १० वर्षको अवधिमा मुख तथा घाँटीको क्यान्सरसम्बन्धी उपचारमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । पाँच हजारभन्दा बढी सफल शल्यक्रिया भएको जनाउँदै यसले अस्पतालको दक्षता र अनुभवलाई पुष्टि गरेको उहाँले उल्लेख गर्नुभयो ।

चिकित्सकहरूले मुखको क्यान्सरको प्रारम्भिक पहिचानमा दन्त चिकित्सक, ओरल हाइजिनिस्ट, प्राथमिक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

आवश्यक तालिम उपलब्ध गराइ समयमा विशेषज्ञ कहाँ सिफारिस गर्ने प्रणाली विकास गर्न सके प्रारम्भिक अवस्थामा धेरै बिरामीको उपचार सम्भव हुने उहाँहरूको भनाइ थियो ।

चिकित्सकहरूले मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न ठूलो बजेट आवश्यक नपर्ने भए पनि यसले प्रारम्भिक पहिचानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

सरकारले मुखको क्यान्सरको रोकथाम तथा प्रारम्भिक पहिचानलाई राष्ट्रिय क्यान्सर नियन्त्रण कार्यक्रमको प्राथमिकतामा राख्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

अस्पतालका रेडिएसन थेरापी विभाग प्रमुख डा गिसुपनिख प्रसि तथा प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले नेपालमा क्यान्सर उपचार सेवाको विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा बिरामीमैत्री सेवा विकासका विषयमा आ–आफ्ना धारणा राख्दै मुलुकभित्रै अन्तरराष्ट्रियस्तरको प्रविधि, अनुभवी चिकित्सक र बहुविषयगत उपचार सेवा उपलब्ध भइसकेको बताउनुभयो ।

समयमै रोग पहिचान, नियमित मुख परीक्षण र विशेषज्ञ उपचारमा पहुँच विस्तार गर्न सरकार, सञ्चारमाध्यम तथा स्वास्थ्यकर्मीले संयुक्त रूपमा जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

मुखको क्यान्सर, महत्त्वपूर्ण स्वास्थ्य समस्याका रूपमा रहेको अस्पतालले जनाएको छ । उपलब्ध तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष करिब एक हजार ३६९ जना मुखको क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् भने करिब ८४३ जनाको मृत्यु हुने गरेको छ । मुखको क्यान्सरका प्रमुख जोखिम तत्वमा सुर्तीजन्य पदार्थ, खैनी तथा अन्य धूमरहित सुर्तीजन्य पदार्थ, सुपारी, धूमपान र मदिरा सेवन रहेका छन् ।

विशेषगरी सुर्ती, सुपारी र मदिराको संयुक्त प्रयोगले जोखिम थप बढाउने अस्पतालका मेडिकल निर्देशक डा घिमिरेले बताउनुभयो । अस्पतालका अनुसार मुखको क्यान्सर रोकथाम गर्न सकिने भए पनि यसको ठूलो भार अझै चुनौतीका रूपमा रहेको छ ।

यसको प्रमुख कारण जोखिमपूर्ण पदार्थको निरन्तर प्रयोगसँगै रोगका लक्षण देखिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न हुने ढिलाइ रहेको जनाइएको छ ।

नेपालमा लक्षण सुरु भएपछि पहिलो स्वास्थ्य संस्थामा पुग्न औसत ३१ दिन, पहिलो सम्पर्कपछि क्यान्सरको निदान हुन थप ४८ दिन र लक्षण सुरु भएको समयदेखि उपचार सुरु हुन करिब ११० दिन लाग्ने गरेको अस्पतालका मेडिकल निर्देशक डा घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार करिब २५ प्रतिशत बिरामीमा लक्षण सुरु भएको छ महिनाभन्दा बढी समयपछि मात्र उपचार सुरु हुने गर्दछ ।

ढिलो उपचार, जनचेतनाको कमी, विखण्डित उपचार प्रणाली, जटिल शल्यक्रियाका लागि आवश्यक पूर्वाधार तथा पुनर्निर्माण सेवाको सीमितता नेपालमा नाक, कान, घाँटीसम्बन्धी क्यान्सरको उपचारका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।

यी चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल क्यान्सर अस्पतालले सन् २०१६ देखि ‘हेड एण्ड नेक अन्कोलोजी’ सेवा विकास गरेको जनाएको छ ।

अस्पतालले जटिल क्यान्सरको उपचारका लागि शल्यचिकित्सकसँगै एनेस्थेसिया, प्याथोलोजी, रेडियोलोजी, अन्कोलोजी, नर्सिङ तथा पुनःस्थापनालगायत विभिन्न विधाका विशेषज्ञलाई एउटै उपचार प्रणालीमा जोड्दै सेवा विस्तार गरेको जनाएको छ ।

अस्पतालका अनुसार यसको उद्देश्य केवल क्यान्सरको शल्यक्रिया गर्नु नभई नेपालमै जटिलभन्दा जटिल टाउको, मुख र घाँटीको क्यान्सरको समयमा गुणस्तरीय उपचार प्रदान गर्न सक्ने प्रणाली निर्माण गर्नु हो ।

अस्पतालले आगामी दिनमा जटिल क्यान्सरको उपचारलाई थप प्रभावकारी बनाउँदै अत्याधुनिक शल्यचिकित्सा तथा पुनःनिर्माण सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.