कला/मनोरन्जन

‘द एभरेस्ट ड्रीम’ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड

निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ ।

यही साउन २१ देखि २४ गतेसम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट ‘द एभरेस्ट ड्रीम’ मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्महरूको प्रतिस्पर्धामा ‘द एभरेस्ट ड्रीम’ले उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड प्राप्त गरेको हो ।

ब्रेन इन्जुरीबाट बाँचेका बेलायती नागरिकहरूको असाधारण सगरमाथा यात्रामा आधारित ‘द एभरेस्ट ड्रीम’ले गम्भीर मस्तिष्क चोटपछि जीवनसँग सङ्घर्ष गरिरहेका व्यक्तिहरूले पुनः जीवनमा सपना देख्दै त्यसलाई पूरा गर्न गरेको प्रयासको कथा प्रस्तुत गरेको छ ।

डाक्टरहरूले पुनः सामान्य रूपमा हिँड्न, बोल्न वा दैनिक जीवनमा फर्किन कठिन हुने बताएका केही व्यक्तिहरूले हार नमानी नेपाल आएर सगरमाथा आधार शिविर पुग्ने सपना बोकेका थिए ।

द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरीबाट बाँचेका व्यक्ति तथा उनीहरूका परिवारसहित सात जनाको टोली सगरमाथा आधार शिविर पुगेको थियो । यही असाधारण यात्रालाई निर्देशक पाण्डेले करिब डेढ वर्ष लगाएर डकुमेन्ट्रीमा प्रस्तुत गरेका हुन् ।

‘द एभरेस्ट ड्रीम’मा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, सङ्गीतकार जुगल डङ्गोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान रहेको छ ।

निर्देशक पाण्डेले ब्रेन इन्जुरीपछि पनि मानिसले आफ्नो जीवनमा नयाँ सपना देख्न सक्छ र त्यसलाई पूरा गर्न सक्छ भन्ने सन्देश विश्वभर पुर्याउन पाउनु नै सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.