राजनीति

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ को ‘रिसर्च डिसिमिनेसन एन्ड क्लोजिङ’ कार्यक्रममा बुधबार परराष्ट्रमन्त्री खनालले नेपालको परराष्ट्र नीति सुदृढ बनाउन अनुसन्धान, प्रमाणमा आधारित विश्लेषण र सूचित सार्वजनिक बहसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले युवा अनुसन्धानकर्तालाई बदलिँदो अन्तरराष्ट्रिय घटनाक्रमको अध्ययन गर्दै नेपालको कूटनीतिक अभ्यास तथा नीति निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो ।

राजनीतिमा आउनुअघि आफूले विद्यालय तहको सार्वजनिक शिक्षाको क्षेत्रमा समेत काम गरेको मन्त्री खनालले बताउनुभयो । उहाँले नेपाली युवाले ज्ञान उत्पादन गर्ने र त्यसबाट नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना दिँदै उहाँले सरकार युवासँग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो ।

“म परराष्ट्र मन्त्रालयमा आएपछि युवाहरूसँग सहकार्य गर्नका लागि यो कार्यक्रम ल्याइएको हो,” मन्त्री खनालले भन्नुभयो । समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रमले जलवायु परिवर्तन, श्रम आप्रवासन, कृत्रिम बौद्धिकता (एआई), प्रविधिलगायत विभिन्न क्षेत्रलाई समेटेको उहाँले जानकारी दिनुभयो ।

सरकारमा सहभागी भएको चार साताभित्रै कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै मन्त्री खनालले आठ सातासम्म सञ्चालन भएको कार्यक्रम फलदायी भएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत देशभित्र र विदेशमा रहेका युवासँग परराष्ट्र मन्त्रालय तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रत्यक्ष रूपमा सहकार्य गर्न सफल भएको छ ।

“यो कार्यक्रममार्फत देशभित्र र बाहिर रहेका युवाहरूसँग परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सिधै काम गर्न सफल भएको छ,” उहाँले भन्नुभयो । परराष्ट्र मन्त्रालयले दुई देश वा संस्थाबीचको सम्बन्ध विस्तारमा मात्र सीमित नभई देशभित्रका विषयमा समेत सुधार ल्याउन चाहेको मन्त्री खनालले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) की कार्यकारी निर्देशक रोजिना ताम्राकारले कार्यक्रमले युवा अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई कूटनीति र परराष्ट्र नीतिको व्यावहारिक अनुभव प्रदान गर्नुका साथै शैक्षिक अनुसन्धान तथा नीतिगत अभ्यासबीच सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताउनुभयो ।

उहाँले अनुसन्धानबाट प्राप्त निष्कर्षलाई उपयोगी र कार्यान्वयनयोग्य नीतिगत स्रोतका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

जुन महिनाको मध्यदेखि अगस्टको मध्यसम्म सञ्चालन भएको आठहप्ते स्वेच्छिक नीति अनुसन्धान कार्यक्रममा १० जना फेलो र १० जना इन्टर्न सहभागी थिए ।

कार्यक्रममा सहभागीहरूले रणनीतिक मामिला तथा सार्वजनिक अन्तरराष्ट्रिय कानुन, विकास तथा वित्त, प्रविधि, स्वच्छ ऊर्जा र नेपाली डायस्पोरालगायत पाँच विषयगत क्षेत्रमा नीतिमुखी अनुसन्धान गरेका थिए ।

समापन कार्यक्रममा फेलो तथा इन्टर्नहरूले नेपालको परराष्ट्र नीति, कूटनीति र अन्तरराष्ट्रिय सम्बन्धसँग सम्बन्धित आफ्ना अनुसन्धानका निष्कर्ष तथा सुझाव प्रस्तुत गरेका थिए । त्यसपछि कूटनीतिज्ञ, सरकारी अधिकारी, प्राज्ञ, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाबीच छलफल भएको थियो । कार्यक्रममा विभिन्न अनुसन्धान तथा शैक्षिक संस्था, विकास साझेदार तथा परराष्ट्र मन्त्रालयका अधिकारीसहित १०० भन्दा बढीको सहभागिता रहेको थियो ।

परराष्ट्र मन्त्रालयको पहलमा सुरु भएको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)ले आयोजना गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.