बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अविरल वर्षाका कारण पछिल्ला दिनमा देशका विभिन्न भागमा बाढी, पहिरो तथा सडक अवरोधबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यद्वारा आज जारी विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । पछिल्लो समय जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधका कारण मानवीय तथा भौतिक क्षति हुनाका साथै सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनसमेत प्रभावित भएको छ ।
विज्ञप्तिमा एमालेले बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी, पीडितको उद्धार तथा राहत वितरण र अवरुद्ध सडक सञ्चालनको कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै, उद्धार, राहत तथा सडक सञ्चालनलगायत कार्यमा स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी जुट्न पार्टीका स्थानीय कमिटी तथा कार्यकर्तालाई एमाले आह्वान गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्