कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुट्न निर्देशन
नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई उद्धार, पुनःस्थापना र राहतका कार्यमा अविलम्ब सहभागी हुन निर्देश गरेको छ ।
कांग्रेसले यसअघि नै आफ्नो नेतृत्वमा बनेको प्रदेश र स्थानीय सरकारलाई विपद्का घटनामा उद्धार, राहत र पुनःस्थापनाका लागि निर्देश गरिसकेको जनाएको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा यही साउन २४ गतेदेखि जारी बैठकले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा शनिबार राति अविरल वर्षापछि आएको पहिरोमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
बैठकले घाइतेहरुको तत्काल उचित उपचार व्यवस्था मिलाउन सरकारसँग माग गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले यस घटनामा परी घरबारविहीन भएका र सम्भावित थप पहिरोको जोखिमका कारण विस्थापित भएका ७० भन्दाबढी घरपरिवारको तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।
यसैगरी बैठकले कालीकोटलगायत पहाडी जिल्लामा आएको पहिरोका कारण कयौँ परिवार घरबारविहीन भएको अवस्थामा विस्थापित नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापित गरी राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबारको बैठकमा १२ जनाले आ–आफ्नो धारणा राख्नुभएको थियो । छलफलको क्रम जारी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक आगामी भदौ १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
बैठकमा आइतबार कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र उदयशम्शेर राणा, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, अर्जुनप्रसाद जोशी, डा चन्द्रकान्त भण्डारी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य र प्रेमबहादुर खड्काले आ–आफ्नो धारणा राख्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्