जापानबिशेष

जापानमा नेपाली विद्यार्थी मनिष तीन महिनादेखि वेपत्ता

जापानमा अध्ययनरत एक नेपाली विद्यार्थी विगत करिब तीन महिनादेखि परिवारको सम्पर्कमा नरहेपछि उहाँको खोजीका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले सार्वजनिक अपिल गरेको छ।

एनआरएनए जापानका अनुसार गोरखा अजिरकोट गाउँपालिका–९ का २३ वर्षीय मनिष गुरुङ सन् २०२३ मा अध्ययनका लागि जापान जानुभएको थियो।

उहाँ टोकियो इन्टरनेशनल बिजनेस कलेजमा अध्ययनरत रहनुभएको थियो। परिवारका अनुसार २०२६ मे २८ देखि उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन।

संघका अनुसार मनिष गुरुङ गोरो वर्णका हुनुहुन्छ। उहाँलाई कतै देख्नुभएको छ वा उहाँको बसोबास तथा अवस्थाबारे कुनै जानकारी भए तत्काल जानकारी गराइदिन जापानस्थित नेपाली समुदायसँग आग्रह गरिएको छ।

विशेष गरी उहाँसँग अध्ययन, रोजगारी वा व्यक्तिगत रूपमा सम्पर्कमा रहनुभएका साथीभाइ तथा चिनजानका व्यक्तिहरूलाई खोजी कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।

एनआरएनए जापानले ०८०–६३५२–८२८६ हटलाइन नम्बरमा प्रत्यक्ष फोन वा ह्वाट्सएपमार्फत सम्पर्क गरेर जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।

सानोभन्दा सानो सूचनाले पनि परिवारलाई ठूलो राहत पुग्ने भएकाले मानवीय संवेदनालाई ध्यानमा राखी सूचना व्यापक रूपमा साझा गरिदिनसमेत संघले अपिल गरेको छ।

पछिल्ला वर्षहरूमा जापानमा अध्ययन वा रोजगारीका लागि गएका केही नेपाली विद्यार्थी तथा युवाहरू विभिन्न कारणले परिवारको सम्पर्कबाट टाढा हुने, सम्पर्कविहीन हुने वा लामो समयसम्म बेपत्ता हुने घटनाहरू समय–समयमा सार्वजनिक हुँदै आएका छन्।

अधिकांश घटनामा प्रहरी, एनआरएनए तथा नेपाली समुदायको सक्रिय सहयोगपछि केही व्यक्तिको अवस्था खुले पनि कतिपय घटनाले परिवारलाई लामो समयसम्म चिन्तित बनाएको थियो।

जापानमा नेपाली विद्यार्थीको संख्या निरन्तर बढिरहेका बेला यस्ता घटनाले विदेशमा रहेका नेपालीहरूको सुरक्षा, मानसिक स्वास्थ्य, वैधानिक बसाइ र नियमित पारिवारिक सम्पर्कलाई थप महत्वका साथ हेर्नुपर्ने आवश्यकता औँल्याएको छ।

अहिले मनिष गुरुङको खोजीमा जापानस्थित नेपाली समुदाय, एनआरएनए जापान तथा परिवारले सबै पक्षसँग सहयोगको अपिल गरेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.