राजनीति

रसुवाको बाढीपछि प्रधानमन्त्रीको निर्देशन : खोज, उद्धार र राहतलाई तीव्रता

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट एक्कासी आएको भीषण बाढीबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढाएको जानकारी दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले भीषण बाढीपछि सरकारले प्रभावित क्षेत्रका बासिन्दाको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतका लागि सुरक्षा निकाय तथा अन्य संयन्त्र परिचालन गरेको बताउनुभएको हो ।

प्रधानमन्त्रीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। साथै अन्य जिल्लाबाट समेत थप सुरक्षा जनशक्ति प्रभावित क्षेत्रमा पठाइसकिएको छ।

उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय रूपमा परिचालित रहेको जानकारी दिँदै चिकित्सकसहितको स्वास्थ्य टोली, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम सुरु गरिएको बताउनुभयो। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने प्रक्रिया पनि अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो।

बाढीको जोखिमलाई मध्यनजर गर्दै त्रिशूली नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। साथै छोटो सन्देश सेवा ९एसएमएस० र टेलिफोनमार्फत स्थानीयलाई सुरक्षित स्थानमा जान सतर्क गराइएको छ।

प्रधानमन्त्री शाहका अनुसार सम्भावित उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै सरकारी हेलिकप्टर प्रभावित क्षेत्रका लागि तयारी अवस्थामा राखिएको छ।

केही हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन भइसकेका छन् भने निजी हेलिकप्टर कम्पनीलाई पनि आवश्यक परे तत्काल परिचालन गर्न तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

उहाँले बाढीपछिको अवस्था, थप जोखिमको मूल्याङ्कन तथा आगामी आवश्यक निर्णयका लागि उच्चस्तरीय बैठकसमेत बोलाइएको जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा आधिकारिक उद्धार तथा खोजी कार्यको विवरण पर्खन अनुरोध गर्नुभएको छ।

थप जानकारी, उद्धार तथा राहतसम्बन्धी सहयोगका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने उहाँले जानकारी दिनुभयो।

यसअघि नेपाल प्रहरीले तिब्बततर्फबाट आएको भीषण बाढी त्रिशूली नदीतर्फ प्रवाह भएकाले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत नदी तटीय जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न आग्रह गरिसकेको छ।

सरकारले बाढी प्रभावित क्षेत्रको क्षतिको विवरण सङ्कलन, खोज तथा उद्धार र राहत वितरणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.