प्रबासबिशेष

अमेरिकामा रहेका नेपालीलाई अस्थायी आप्रवासन राहत दिन ट्रम्प प्रशासनसँग आग्रह

नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकामा कानुनी रूपमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मानवीय आधारमा आपत्कालीन आप्रवासन संरक्षण, रोजगारी अनुमति तथा यात्रा सहुलियत उपलब्ध गराउन आग्रह गरिएको छ । अमेरिकास्थित नेपाली मूलका आप्रवासन कानुन व्यवसायीले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसमक्ष पत्र पठाई नेपालमा आएको बाढीबाट प्रभावित नेपाली समुदायका लागि विशेष मानवीय राहतका उपाय लागू गर्न अनुरोध गर्नुभएको हो।

एआई सिर्जित नमूना चित्र

न्यूर्योकबाट प्रकाशित हुने खसोखास अनलाइन समाचारपत्रका अनुसार अध्यागमन कानुन व्यवसायी केशवराज सेडाईले अगस्ट २८ मा राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिकी गृह सुरक्षा विभाग (होमल्यान्ड सेक्युरिटी)का सचिव मार्कवेन मुलिनलाई छुट्टाछुट्टै पत्र पठाई नेपालमा आएको बाढीबाट प्रभावित नेपाली समुदायका लागि विशेष मानवीय राहतका उपाय लागू गर्न अनुरोध गर्नुभएको हो।

उहाँले अमेरिकामा कानुनी रूपमा बसिरहेका र नेपालमा रहेका परिवारका सदस्य प्राकृतिक विपत्तिबाट प्रभावित भएका नेपाली नागरिकको अवस्थालाई ध्यानमा राखी तत्काल राहतका विशेष व्यवस्था गर्न आग्रह गर्नुभएको छ।

पत्रमा अमेरिकामा रहेका नेपाली नागरिकमाथि अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) ले सञ्चालन गर्ने निष्कासन तथा अन्य कारबाही कम्तीमा छ महिनाका लागि स्थगित गर्न आग्रह गरिएको छ।

साथै नेपाललाई अस्थायी संरक्षित हैसियत (टेम्पोररी प्रोटेक्टेड स्टाटस–टीपीएस) प्रदान गर्न वा वैकल्पिक रूपमा योग्य नेपाली नागरिकलाई छिटो रोजगारी अनुमति उपलब्ध गराउन माग गरिएको छ।

सेडाईको कार्यालयका अनुसार नेपालमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको, हजारौँ परिवार विस्थापित भएका तथा जनस्वास्थ्य र सार्वजनिक सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको छ।

राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “हाल विभिन्न भिसा श्रेणीअन्तर्गत अमेरिकामा कानुनी रूपमा बसिरहेका धेरै नेपाली नागरिकले विपत्तिबाट प्रभावित आफ्ना परिवारको साथ दिन नेपाल फर्कने वा अमेरिकामा बसिरहने कठिन मानवीय निर्णयको सामना गरिरहेका छन्।”

उहाँले नेपाली नागरिकलाई आफ्ना प्रभावित परिवार र समुदायलाई सहयोग गर्न नेपाल यात्रा गर्न तथा त्यसपछि कुनै प्रतिकूल आप्रवासन प्रभाव नपर्ने गरी पुनः अमेरिकामा प्रवेश गर्न पाउने विशेष मानवीय यात्रा सहुलियत उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ।

गृह सुरक्षा सचिव मुलिनलाई पठाइएको पत्रमा नेपालका लागि टीपीएस घोषणा गर्न वा सो सम्भव नभए योग्य नेपालीलाई शीघ्र रोजगारी अनुमति उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ। साथै नेपालको मानवीय अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकसँग सम्बन्धित निष्कासन प्रक्रिया स्थगित गर्न पनि आग्रह गरिएको छ।

यो अनुरोध विशेषगरी एच–१बी भिसा, रोजगारीमा आधारित आप्रवासन प्रक्रिया, परिवार पुनर्मिलनसम्बन्धी आप्रवासन प्रक्रिया तथा अन्य कानुनी हैसियतमा रहेका नेपाली नागरिकलाई लक्षित गरिएको जनाइएको छ।

नेपाल गएमा आफ्नो आप्रवासन हैसियत, पुनः प्रवेश अनुमति वा रोजगारीमा असर पर्ने चिन्ताका कारण धेरै नेपाली स्वदेश जान नसकेको पत्रमा उल्लेख गरिएको छ।

सेडाईको कार्यालयले प्रस्ताव गरिएका यी उपायलाई कुनै प्रकारको आममाफी वा स्थायी आप्रवासन सुविधा नभई प्राकृतिक विपत्तिका बेला प्रदान गरिने अस्थायी मानवीय संरक्षणका रूपमा व्याख्या गरेको छ।

पत्रमा भनिएको छ, “यी उपायहरू प्राकृतिक विपत्तिबाट प्रभावित देशका नागरिकप्रति अमेरिकी गृह सुरक्षा विभागले विगतमा अपनाउँदै आएको मानवीय अभ्याससँग मेल खाने अस्थायी राहतका व्यवस्था हुन्। यसले कुनै स्थायी आप्रवासन अधिकार सिर्जना गर्दैन।”

उहाँले राष्ट्रपति ट्रम्प, गृह सुरक्षा सचिव मुलिन वा प्रशासनका अन्य उच्च अधिकारीसँग नेपालमा विकसित मानवीय अवस्था तथा त्यसले नेपाली–अमेरिकी समुदायमा पारेको प्रभावबारे छलफल गर्न एक साताभित्र भेटघाटको समय उपलब्ध गराइदिन पनि अनुरोध गर्नुभएको छ।

सेडाईको कार्यालयका अनुसार उक्त पहल नेपाली–अमेरिकी समुदायको तर्फबाट गरिएको हो। अमेरिकी कानुनअनुसार अस्थायी संरक्षित हैसियत (टीपीएस) गृह सुरक्षा सचिवको औपचारिक निर्णयबाट प्रदान गरिने व्यवस्था छ।

सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप वा अन्य असाधारण र अस्थायी परिस्थितिबाट प्रभावित मुलुकका योग्य नागरिकलाई टीपीएस प्रदान गर्न सकिने कानुनी व्यवस्था रहेको छ। यसअन्तर्गत तोकिएको अवधिसम्म अमेरिकामा बस्न र काम गर्न अनुमति पाइने भए पनि यसले स्थायी बसोबासको अधिकार भने स्वतः प्रदान गर्दैन।

नेपालमा आएको भीषण बाढीपछि प्रभावित आफन्तको सहयोगका लागि स्वदेश जान चाहने अमेरिकास्थित नेपाली समुदायले भिसा, विचाराधीन आप्रवासन प्रक्रिया तथा पुनः प्रवेशसम्बन्धी जटिलताका कारण कठिनाइ भोगिरहेका बेला यो अनुरोध सार्वजनिक भएको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.