भोटेकोशीमा बाढीको जोखिम कायमै, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको भन्दै जलविज्ञान तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार भोटेकोशी र त्रिशूली नदीको जलसतह अहिले सामान्य अवस्थामा रहे पनि माथिल्लो क्षेत्रमा पहिरोले नदी थुनिएर बनेको प्राकृतिक ताल फुट्ने जोखिम रहेकाले अर्को सूचना जारी नभएसम्म नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न अनुरोध गरिएको छ।
महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन सरकारबाट प्राप्त सूचना र भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी आएको क्षेत्रमाथि नदी थुनिएर बनेको तालको आकार विस्तार हुँदै गएको जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त प्राकृतिक ताल फुटेमा ठूलो परिमाणमा पानीसँगै ढुंगा, माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा पुनः आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको छ।
“हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि माथिल्लो क्षेत्रमा बनेको तालका कारण जोखिम पूर्ण रूपमा टरेको छैन,” उहाँले भन्नुभयो। “जोखिम बढ्ने संकेत देखिएमा तत्काल पूर्वसूचना जारी गरिनेछ।”
महाशाखाले विशेषगरी भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती, सडक तथा उद्धार कार्यमा खटिएका टोलीलाई जोखिमयुक्त स्थानबाट टाढा सुरक्षित क्षेत्रमा रहन आग्रह गरेको छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेकाले खोज तथा उद्धार कार्य प्रभावित हुन सक्ने जनाएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार रसुवासहित आसपासका क्षेत्रमा आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।
“भारी वर्षाका कारण पहिरो र आकस्मिक बाढीको जोखिम बढ्न सक्ने भएकाले खोज तथा उद्धार कार्यमा चुनौती थपिन सक्छ,” उहाँले भन्नुभयो। “त्यसैले सम्बन्धित निकाय र स्थानीय बासिन्दाले उच्च सतर्कता अपनाउन आवश्यक छ।”
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा मधेस र कोशी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज रातिदेखि पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानाला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।




प्रतिक्रिया राख्नुहोस्