अर्थकर्पोरेट/पर्यटन

भोटेकोशी बाढीपीडितलाई एनआईटिभी नेपाल–नेपालजापान डटकमको आर्थिक सहयोग

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहायताका लागि एनआईटिभी नेपाल/न्यू आईटी भेन्चर तथा नेपालजापान डटकमका तर्फबाट पहिलो चरणको आर्थिक सहयोग प्रदान गरिएको छ।

आज भदौ १६ गते मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसमक्ष रु. १ लाख ११ हजार १११ बराबरको राहत सहयोग हस्तान्तरण गरिएको हो।

सहयोग रकम एनआईटिभी नेपालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल, प्रशासकीय अधिकृत विनय मगर तथा नेपालजापान डटकमका सम्पादक यादब देवकोटाले संयुक्त रूपमा मन्त्री पुनलाई हस्तान्तरण गर्नुभएको थियो।

यस अवसरमा संस्थाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई सबै पक्षको साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।

साथै, संस्थाले यस दुःखद विपद्मा ज्यान गुमाउनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

सहयोग रकमसंगै हस्तान्तरण गरिएको पत्रमा बाढीमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचाररत सबैले चाँडै स्वास्थ्य लाभ प्राप्त गर्न सकून् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ।

पत्रमा लेखिएको छ, “यस विपदबाट घरबार, जीविकोपार्जन तथा जीवनका आधारहरू गुमाउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ। खोज, उद्धार, राहत र पुनःस्थापनाका कार्यहरू अझ प्रभावकारी र तीव्र रूपमा अघि बढून् भन्ने कामना गर्दै यस कठिन घडीमा सम्पूर्ण प्रभावितमा धैर्य, साहस र पुनःउत्थानको शक्ति प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।”

संस्थाले यस कठिन परिस्थितिमा सम्पूर्ण प्रभावित नागरिकमा धैर्य, साहस र पुनःउत्थानको शक्ति प्राप्त होस् भन्ने कामना गर्दै विपद्को घडीमा सबै क्षेत्रबाट मानवीय सहयोग र राष्ट्रिय एकता अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.