एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बिहीबार काठमाडौँमा आयोजना गरेको स्पोर्टस् अवार्डको २३औँ संस्करण कार्यक्रममा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
चन्द्रबहादुरले वर्ष उत्कृष्ट पुरुष र एरिकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सम्पन्न अन्तरराष्ट्रिय बक्सिङ महासङ्घ (आइबा) पुरुष विश्व च्याम्पियनपसिपमा कास्य पदक जितेर इतिहास बनाएपछि चन्द्रबहादुर उत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । उनी विश्व बक्सिङमा पदक जित्ने पहिलो नेपाली बक्सर हुन् । उनलाई गोल्छा समूहका अध्यक्ष अमिताभ अग्रवालले अवार्ड प्रदान गरे ।
यस्तै, एरिकाले लगातार तेस्रोपटक वर्ष महिला खेलाडीको अवार्ड जितिन् । उनले गत वर्ष मोरक्कोको रावतमा सम्पन्न कराते वान प्रिमियर लिगको ६८ किलोमाथिको तौल समूहमा कास्य पदक जितेकी थिइन् ।
एरिकाले टर्कीको इस्तानबुलमा भएको डब्ल्युुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, चीनमा सम्पन्न डब्ल्युकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्ल्युकेएफ कराते वान सिरिजमा स्वर्ण र थाइल्याण्ड ओपनमा एकल तथा टिम स्पर्धामा स्वर्ण पदकसमेत जितेकी थिइन् ।
यस्तै, करातेकी मनिषाकुमारी बोहरा वर्षकी उत्कृष्ट युवा खेलाडी घोषित भइन् । उनले गत वर्ष चीनमा आयोजित एसियन २३औँ क्याडेट, जुनियर तथा यु–२१ कराते च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् । यस्तै, मनिषाले श्रीलङ्कामा सम्पन्न नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण पदक दिलाएकी थिइन् ।
यसैगरी करातेका कुशल श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको उत्कृष्ट प्रशिक्षक घोषित भए । अन्तरराष्ट्रिय करातेमा एरिका गुरुङलाई लगातार सफलता दिलाउन श्रेष्ठले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनले यो अवार्ड लगातार तेस्रो पटक जितेकी हुन् ।
यस्तै, भलिबलकी मीना सुनारले पिपल्स च्वाइसको अवार्ड जितिन् । उनी भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा विजेता घोषित भएकी हुन् । मीनाले सर्वाधिक २९.४ प्रतिशत मत प्राप्त गरेकी थिइन् । पुरस्कार विजेता पाँचै जनालाई पल्सर मोटरसाइकल प्रदान गरिएको छ ।
यसैगरी नेपाललाई प्रथम दृष्टिविहीन महिला टी–२० क्रिकेटको फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएकी सुष्मा तामाङलाई ‘पारा एथलिट सम्मान २०८२’ प्रदान गरिएको छ । कराते प्रशिक्षक धु्रवविक्रम मल्ललाई स्पेसल अवार्डबाट सम्मान गरिएको छ ।
ब्याडमिन्टनका पूर्वखेलाडी मोहनबहादुर शाहीलाई एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट भारतका सबा नायकन सम्मानित भएका छन् । उनीहरुलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्