जापान

कागोसिमाको याकुशिमामा पहिरोको उच्च जोखिम घट्यो

टोकियो । जापान मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार बिहान दक्षिणपश्चिमी क्युशु क्षेत्रअन्तर्गत कागोसिमा प्रान्तको द्वीपीय नगर याकुशिमाका लागि पहिरोको सर्वोच्च तह (लेभल–५) को आपत्कालीन चेतावनी जारी गरेको छ।

निकायले शनिबार बिहान ५:१० बजे उक्त चेतावनी जारी गरेको थियो। यद्यपि वर्षाको अवस्था केही सामान्य बन्दै गएपछि ११:३० बजे चेतावनीलाई लेभल–४ मा झारिएको छ। तर, स्थानीयवासीलाई पहिरोको जोखिम अझै कायम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जेएमएका अनुसार यस वर्षको २४औँ आँधी ‘क्रोभान्ह’ र उष्णकटिबन्धीय न्यूनचाप प्रणालीको प्रभावका कारण शुक्रबार रातिदेखि शनिबार बिहानसम्म याकुशिमामा अन्तराल–अन्तरालमा विकसित भएका रेखीय वर्षा प्रणालीका कारण अत्यधिक वर्षा भएको हो।

याकुशिमाको ओनोआइदा क्षेत्रमा शनिबार बिहान ५:३० बजेसम्मको २४ घण्टामा ४९०.५ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन त्यस क्षेत्रको अहिलेसम्मकै उच्च रेकर्ड हो। शनिबार बिहान १२:३० बजेपछि अधिकतम २५.९ मिटर प्रति सेकेन्डको झट्कायुक्त हावाको गति पनि रेकर्ड गरिएको छ।

मौसम विज्ञान निकायका अनुसार शनिबार बिहान ९ बजे आँधी ‘क्रोभान्ह’ ओकिनावाको कुमेजिमा टापुबाट करिब १७० किलोमिटर उत्तर समुद्री क्षेत्रमा १५ किलोमिटर प्रतिघण्टाको गतिमा दक्षिण–दक्षिणपश्चिमतर्फ सरिरहेको थियो।

आँधीको केन्द्रमा वायुमण्डलीय चाप ९९० हेक्टोपास्कल रहेको छ भने अधिकतम निरन्तर हावाको गति २० मिटर प्रति सेकेन्ड र झट्कायुक्त हावाको गति ३० मिटर प्रति सेकेन्ड पुगेको छ।

आँधीको केन्द्रबाट उत्तरपश्चिमतर्फ करिब ४४० किलोमिटर र दक्षिणपूर्वतर्फ २८० किलोमिटर क्षेत्रभित्र प्रतिघण्टा १५ मिटर प्रति सेकेन्डभन्दा बढीको हावाहुरी चलिरहेको निकायले जनाएको छ।

जेएमएका पूर्वानुमान विभागका निर्देशक ताकुया होसोमीका अनुसार आँधी र उष्णकटिबन्धीय न्यूनचापका कारण दक्षिणपूर्वबाट आएको तातो तथा आर्द्र हावा पूर्वी हावासँग ठोक्किँदा शक्तिशाली क्युमुलोनिम्बस बादल विकसित भई अत्यधिक वर्षा भएको हो।

यसैबीच पूर्वी र पश्चिमी जापानको प्रशान्त तटीय क्षेत्रमा मौसमी अग्रभाग (फ्रन्ट) स्थिर रहेको तथा उष्णकटिबन्धीय न्यूनचाप आइतबार उत्तरतर्फ सर्ने अनुमान गरिएको छ। यसको प्रभावले शनिबार र आइतबार मुख्यतः प्रशान्त तटीय क्षेत्रमा भारी वर्षा हुन सक्ने मौसम विज्ञान निकायले जनाएको छ।

आइतबार बिहान ६ बजेसम्मको २४ घण्टामा दक्षिणी क्युशु क्षेत्रमा २०० मिलिमिटर, कागोसिमाको अमामी टापु क्षेत्रमा १८० मिलिमिटर, टोकाइ क्षेत्रमा १०० मिलिमिटर तथा ओकिनावा, किन्की र कान्तो–कोशिन क्षेत्रमा ८० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

उता, जापानको मन्त्रिपरिषद् कार्यालयका अनुसार कागोसिमा प्रान्तीय सरकारले याकुशिमा नगरमा विपद् राहत ऐन लागू गर्ने निर्णय गरेको छ। यसअन्तर्गत उद्धार, राहत तथा अस्थायी आश्रयस्थल सञ्चालनका खर्च केन्द्र र प्रान्तीय सरकारले संयुक्त रूपमा व्यहोर्नेछन्।

(समाचार र तस्वीर स्रोत द जापान टाइम्स)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.