रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत, उद्धार र पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट आर्थिक तथा प्राविधिक सहयोग जुट्ने क्रम निरन्तर बढिरहेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा मात्रै हालसम्म रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ सङ्कलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा प्रारम्भिक पुनःस्थापनाका लागि यसअघि नै उक्त कोषबाट रु एक अर्ब निकासा गरिसकेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकमा रु आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ जम्मा भएको छ भने हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा सञ्चालित अमेरिकी डलर खातामा एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर सङ्कलन भएको छ।
भोटेकोशी विपद्पछि स्वदेशी सहयोगसँगै अन्तर्राष्ट्रिय समुदायबाट पनि राहत, उद्धार तथा पुनर्निर्माणका लागि सहयोगको प्रतिबद्धता बढ्दै गएको छ।
भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, संयुक्त अरब इमिरेट्स, कतार, सिङ्गापुर, गणतन्त्र कोरिया, अष्ट्रेलिया, जर्मनी, क्यानडा, नर्वे, इजरायल, भुटान, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, न्युजिल्यान्डलगायतका मित्रराष्ट्र तथा युरोपेली सङ्घ, एसियाली विकास बैंक (एडीबी), विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाले आर्थिक, प्राविधिक, उद्धार सामग्री तथा मानवीय सहयोग उपलब्ध गराएका छन्।
सरकारले हालसम्म प्राप्त सहयोग उद्धार, राहत वितरण, शव व्यवस्थापन, खोजी कार्य, स्वास्थ्य सेवा तथा प्रारम्भिक पुनःस्थापनामा परिचालन गरिरहेको जनाएको छ। साथै, दीर्घकालीन पुनर्निर्माण र पूर्वाधार पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग थप सहयोग र सहकार्यको पहल पनि अघि बढाइएको छ।
सरकारले निजी क्षेत्र, वित्तीय संस्था, सङ्घसंस्था, नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त सहयोगले विपद् व्यवस्थापन तथा प्रभावित समुदायको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।





प्रतिक्रिया राख्नुहोस्