राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत वर्ष भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाजस्तो अवस्था अब नेपाली इतिहासमा कहिल्यै नदोहोरियोस् भन्ने कामना गर्नुभएको छ।
प्रथम जेनजी शहीद दिवसका अवसरमा मंगलबार सन्देश जारी गर्दै लामिछानेले परिवर्तनका लागि कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्दै आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। उहाँले कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
लामिछानेले एक वर्षअघि भ्रष्टाचार, दलीय भागबण्डा, संस्थागत अक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध नेपालको युवा पुस्ता शान्तिपूर्ण तर दृढ संकल्पका साथ सडकमा उत्रिएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार त्यो आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त रूपमा भएको जागरण थियो।
“एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो,” सन्देशमा भनिएको छ। उहाँले भदौ २३ र २४ गतेको घटना अब कहिल्यै नदोहोरिनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग तथा मानसिक र शारीरिक पीडा भोगेकाहरूप्रति सम्मान व्यक्त गर्दै राज्यले पीडित परिवारको उचित हेरचाह, घाइतेको पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
लामिछानेले राजनीतिप्रति उदासीन भनिएको युवा पुस्ता सडकमा उत्रनु परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति भएको उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको र आफ्नै देशमा भविष्य खोज्ने पुस्ताले अब कुशासन स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको छ।
उहाँले जेनजी आन्दोलनलाई कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो सङ्कुचित राजनीतिक स्वार्थको साधन बनाउन नहुने बताउनुभएको छ।
“हिजो सडकबाट नवयुवाहरूले सोधेका प्रश्नको जवाफ दिने ठाउँमा आज हामी उभिएका छौँ। समयले हामीलाई पनि जवाफदेही बनाएको छ,” उहाँले भन्नुभएको छ।
सभापति लामिछानेले युवा, नागरिक समाज र आम नागरिकलाई सरकार तथा राजनीतिक नेतृत्वको रचनात्मक खबरदारी र कार्यसम्पादनको निरन्तर समीक्षा गर्न आग्रह गर्नुभएको छ।
साथै, आम जनमानसमा निराशाको भाष्य स्थापित हुन नदिन र नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।
सन्देशको अन्त्यमा उहाँले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।




प्रतिक्रिया राख्नुहोस्